शनिबार, जेठ ५, २०८१
12:09 | १६:५४

बेलायतमा एकै दिन १ लाख २२ हजार बढी संक्रमित

रासस/सिन्ह्वा डिसेम्बर २६, २०२१

तस्बिर एएफपी

लन्डन, ११ पुस–बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका हुन् ।

यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।
त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा संक्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको बताइएको छ ।

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।

त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका संक्रमितहरुको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू