शनिबार, जेठ ५, २०८१
12:36 | १७:२१

बेलायतमा एकैदिन एक लाख २० हजार संक्रमित

नेपाली लिङ्क डिसेम्बर २३, २०२१

लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमितको नयाँ कीर्तिमान लगातार कायम छ। बिहीबार एकैदिन झन्डै एक लाख २० हजार संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार बढी संक्रमित थपिएका थिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ ।

संक्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा कर्मचारीको अभाव खट्किन थालेको छ । डिसेम्बर महिनामा करिब १९ हजार कर्मचारी कोरोना संक्रमणका कारण अनुपस्थित रहेको अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा रेल सेवामा परेको असुविधालाई मध्यनजर गर्दै सरकारले १० दिनको क्वारेन्टाइन अवधि घटाएर ७ दिनमा झार्ने निर्णय गरेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४७ जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ७२० पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार भन्दा बढी अस्पताल भर्ना भएका छन् । बेलायतका कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्यामा सामान्य वृद्धि भएर आठ हजार २१६ पुगेको  छ । त्यस्तै ८४२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५ लाख १२ हजार ७० डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १६ लाख १७ हजार ९१ जना अर्थात् ८९.८ प्रतिशतले खोपको पहिलो र ४ करोड ७२ लाख १० हजार ५३ जना अर्थात् ८२.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी ३ करोड १६ लाख ८४ हजार ९२६ अर्थात् ५५.१ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू