शनिबार, जेठ ५, २०८१
13:48 | १८:३३

बिसीसी यूके विविध कार्यक्रमका साथ ल्होछार मनाउँदै

नेपाली लिङ्क डिसेम्बर २३, २०२१

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउने भएको छ । 

३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन बिसीसी यूकेको अल्डरसटस्थित आफ्नै गुम्बामा धार्मिक पूजापाठका साथ ल्होछार मनाउन लागिएको हो । 

प्रत्येक पौष १५ गते ल्हो अर्थात् वर्ग सर्ने भएकाले पनि यस दिनलाई तमूहरुले बिशेष महत्व दिने गर्दछन् । यस वर्ष विश्वभर रहेका तमूहरुले उक्त दिन गाई वर्गलाई विदाई र बाघ वर्गलाई स्वागत गर्दैछन् । 

विश्वभरका तमूहरुले ल्होछार अर्थात् नयाँ वर्षले हरेक मानव जातीमा सुख, शान्ति, खुसी, सुस्वास्थ्य, दीर्घायू, समृद्धि ल्याउन सकोस् भन्ने कामनाका साथ धार्मिक पूजापाठ, एकअर्कामा शुभकामना आदानप्रदान, भेटघाट एवं विविध मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही क्रममा बिसीसी यूकेले पनि विगत केही वर्ष देखि प्रत्येक पौष १५ का दिन अल्डरसटस्थित गुम्बा परिसरमा बौद्ध परम्परानुसार धार्मिक पूजापाठ गर्दै आएको छ ।

बिसीसी यूकेले यस वर्ष आउंदो बिहिबार ३० डिसेम्बर बिहान १० देखि साँझ ५ बजेसम्म ग्यब्शी, छोक र आयु पुजा आयोजना गर्न लागेको हो । 

बिसीसी यूकेका सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले, “नयाँ ल्हो ले सम्पूर्ण तमूहरुमा एकता, सुख, समृद्धि, हर्ष, उल्लास, उमंग अनि नयाँ जोश–जाँगर साथै भगवान बुद्धप्रति श्रद्धा बढाउन जाँगर मिलोस्” भन्दै सबै तमूहरुमा ल्होछार मनाउन हार्दिक अनुरोध गरेका छन् । 

साथै, उनले उक्त दिन बिसीसी यूकेको अल्डरसट गुम्बामा ग्यब्शी, छोक अनि आयु पुजा हुने जानकारी दिदै पछिल्लो समय कोभिड–१९ संक्रमण दिनप्रतिदिन बढ्दै आइरहेकोले उक्त दिन घरमै बसेर ल्होछार मनाउन अनुरोध गरे । 

संयोजक मेजर गुरुङले गत वर्ष जस्तै यसबर्ष पनि गुम्बाभित्र नआइदिन अनुरोध गर्दै आफ्नो नङ, कपाल र गेडागुडीहरु गुम्बाको पछिल्लो गेटमा राखिएको बाल्टीमा राख्न सुझाएका छन् । 

त्यस्तै, उनले गतबर्ष झै यस वर्ष पनि गुम्बामा धार्मिक पूजापाठ सहित सामूहिक रुपमा दीप प्रज्ज्वलन गरिने र भक्तजनहरुबाट प्राप्त डेनेशन रकम आवश्यक व्यक्ति वा संघसंस्थालाई सहयोग गर्ने कार्यक्रम रहेको हुँदा दीप प्रज्ज्वलन तथा डोनेशन गर्न इच्छुक दानवीरहरुले बिसीसी यूकेको कार्यालय वा सिधै आफूलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।  

स्मरण रहोस्, बिसीसी यूकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, बुद्ध पूर्णिमा लगायतका अवसरमा बिशेष धार्मिक पूजापाठ आयोजना गरि पूजापाठबाट वचत भएको रकम च्यारिटीमा खर्च गर्दै आएको छ । 

पछिल्लो समय नेपालमा कोभिडबाट प्रभावितहरुको सहयोगार्थ एनआरएनए यूकेमार्फत अक्सिजन खरिदका लागि १५ हजार पाउण्ड सहयोग गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू