शनिबार, जेठ ५, २०८१
10:42 | १५:२७

इंग्ल्याण्डमा घट्यो आइसोलेसन अवधि, सात दिन मात्र बसे पुग्ने

नेपाली लिङ्क डिसेम्बर २२, २०२१

लन्डन । कोभिड संक्रमण रोक्न इंग्ल्याण्डमा लागू गरिएको ‘सेल्फ आइसोलेशन’ को समय घटाइएको छ । कोरोना संक्रमित भएको खण्डमा यसअघि १० दिनसम्म सेल्फ आइसोलेसन बस्नुपर्ने नियम थियो ।

नयाँ नियम अनुसार छैटौं र सातौँ दिनमा परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएमा सातौँ दिनबाट क्वारेन्टाइन अन्त गर्न सकिनेछ । तर, खोपको दुवै मात्रा नलगाएका र कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुले भने पूरा दश दिन नै ‘आइसोलेट’ हुनुपर्नेछ ।

स्वास्थ्य विज्ञको सल्लाह अनुसार क्वारेन्टाइन अवधि घटाइएको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । ओमिक्रोन संक्रमण तीव्र रुपमा बढेपछि विशेषगरि  स्वास्थ्य तथा रेल क्षेत्रमा कर्मचारीहरुको अभाव हुन थालेपछि यो नयाँ नियम लागू गर्न लागिएको अधिकारीहरुले बताएका छन् ।

नयाँ नियम खोप लगाएकाहरुलाई पनि लागू हुनेछ । तर, कोभिडको लक्षण देखिएको छ भने आइसोलेसन नै बस्नुपर्ने बताइएको छ । आइसोलेसन मुक्त भएकाहरुलाई सिमित व्यक्तिबीच मात्र सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

बेलायतमा विगत केहि दिनयता संक्रमण दर महामारीयताकै उच्च रहँदै आएको छ । डिसेम्बर १७ मा एकैदिन सबैभन्दा बढी ९३ हजार जना संक्रमित रहेकोमा केहि दिनयता लगातार ९० हजार भन्दा बढी संक्रमित हुने गरेका छन् ।

पछिल्लो २४ घन्टामा पनि थप ९० हजार ६२९ जना संक्रमित भएका छन् भने अघिल्लो दिन ९१ हजार भन्दा बढी संक्रमित भएका थिए । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १४ लाख ५३ हजार १२१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू