शनिबार, जेठ ५, २०८१
11:40 | १६:२५

बेलायत सरकारद्वारा ‘ओमिक्रोन’ प्रभावित व्यवसायलाई राहत प्याकेज घोषणा

नेपाली लिङ्क डिसेम्बर २१, २०२१

बेलायती अर्थमन्त्री ऋषि सुनाक

लन्डन । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण संकटमा परेका व्यवसायका लागि बेलायत सरकारले एक बिलियन पाउण्ड सहयोग घोषणा गरेको छ । बेलायती अर्थमन्त्री ऋषि सुनाकले आज उक्त घोषणा गरेका हुन् ।

आउंदै गरेको क्रिसमस समयमा हस्पिटालिटी क्षेत्रसंग सम्बन्धित पव तथा रेष्टुरेन्ट जस्ता व्यवसायहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै सरकारले सो राहत प्याकेज घोषणा गरेको हो ।

मनोरन्जन तथा आतिथ्य क्षेत्रलगायत साना तथा मध्यम खालका व्यवसायलाई लक्षित गरि सो योजना ल्याइएको हो । यसैगरी थिएटर तथा म्यूजियमका लागि थप ३० मिलियन पाउण्ड रकम छुट्याइएको पनि अर्थमन्त्री सुनाकले बताए ।

यो घोषणासंगै हस्पिटालिटी व्यवसाय पब तथा रेष्टुरेन्टहरु प्रत्येकले बढीमा ६ हजार पाउण्डसम्म नगद ‘ग्रान्ट’ प्राप्त गर्न सक्नेछन्।

क्रिसमस समयमा अत्यन्त व्यस्त हुने हस्पिटालिटी क्षेत्रका व्यवसायहरुलाई ओमिक्रोन संक्रमणका कारण नराम्रो असर परेको भन्दै सरकारले राहत प्याकेज घोषणा गरेको हो ।

यसैगरी २५० जना भन्दा कम कामदार रहेका कम्पनीलाई कोरोनाका कारण हुने बिरामी बिदा (सिक पे) स्किम पनि लागू गरिने भएको छ ।

बेलायतमा पछिल्लो समय कोरोना संक्रमित संख्या महामारी सुरु भएयताकै उच्च रहँदै आएको छ । पछिल्लो तीन दिनयता दैनिक संक्रमित संख्या ९० हजार बढी छ ।

पछिल्ला दिनमा बढ्दो कोरोनभाइरस संक्रमणले अतिथि सत्कारको यो क्षेत्रले बारम्बार राज्य सहायताको लागि आह्वान गर्दै आएको छ ।

अर्थमन्त्री ऋषि सुनाकले भनेका छन्, ‘ओमिक्रोन भेरिएन्टको फैलावटले आतिथ्य र मनोरञ्जन क्षेत्रका व्यवसायहरूले व्यस्त हुनुपर्ने समयमा ठूलो अनिश्चितताको सामना गरिरहेका छन् भन्ने कुरा हामीलाई थाहा छ । त्यसैले १ अर्ब पाउण्डस्टर्लिङको सहयोग प्याकेज योजना अघि सारेका छौँ ।’

उनले नयाँ योजना अन्तर्गत प्रत्येक क्षेत्रमा करिब दुई लाख व्यवसाय छ हजार पाउण्ड स्टर्लिङसम्म अनुदानका लागि योग्य हुने र आगामी हप्तामा उपलब्ध गराइने पनि बताए ।

प्रधानमन्त्री बोरिस जोन्सनले राहत प्याकेज सम्बन्धमा भनेका छन्, ‘कोभिड–१९ ओमिक्रोन भेरिएण्टको वृद्धिसँगसँगै मानिसहरूले आफ्नो जीवन बिताउँदा बढी सावधानी अपनाउनु उचित छ । वर्षको सबैभन्दा व्यस्त समयमा हाम्रो आतिथ्य, मनोरञ्जन र सांस्कृतिक क्षेत्रलाई असर गरिरहेको छ । यसका लागि सरकारले उचित कार्यक्रम घोषणा गर्दै जानेछ ।’

देशभरका मानिसहरूलाई आफू, आफ्ना प्रियजन र समुदायका लागि अत्यावश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिवद्ध रहने पनि जोन्सनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू