शनिबार, जेठ ५, २०८१
09:30 | १४:१५

बेलायतमा भयावह बन्दै कोरोना, दैनिक संक्रमण लाख नजिक

नेपाली लिङ्क डिसेम्बर १७, २०२१

फाइल तस्विर

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक संक्रमित संख्याले लगातार नयाँ कीर्तिमान कायम गरेको छ ।

पछिल्लो २४ घन्टामा मात्र ९३ हजार बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

यसअघि कोरोना संक्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार संक्रमित थिए भने बुधबार ७८ हजार ६१० र बिहीबार ८८ हजार ३७६ संक्रमित थपिएका थिए ।

दैनिक हजारौंको सङ्ख्यामा संक्रमित थपिन थालेपछि बेलायतमा उच्च सतर्कता अपनाउन लागिएको छ ।

बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड ११ लाख ९० हजार ३५४ पुगेको छ । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा झन्डै १५ हजार संक्रमित भइसकेका छन् ।

बितेको २४ घन्टामा मात्र तीन हजार २०१ जनामा ओमिक्रोन पुष्टि भएको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमण दर ६० प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १११ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९०० संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ६ सय ११  छ । यस्तै ८७५ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

संक्रमण दर बढेसंगै अस्पतालहरुमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ । यसअघिको पिक समयमा  दैनिक अस्पताल भर्ना हुनेको  संख्या चार हजार ५८३ पुगेको थियो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ४६ लाख ५६ हजार १०३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ९३ हजार ६६४ जना अर्थात् ८९.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ६९ लाख २३ हजार ७८८ जना अर्थात् ८१.६ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसै गरी २ करोड ६३ लाख ३८ हजार ६५१ अर्थात् ४५.८ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू