शनिबार, जेठ ५, २०८१
09:08 | १३:५३

बेलायतमा कोरोना संक्रमणको नयाँ कीर्तिमान, तर लकडाउन नहुने !

नेपाली लिङ्क डिसेम्बर १६, २०२१

तस्बिर एपी

लन्डन । बेलायतमा पछिल्लो दुई दिनयता दैनिक कोरोना संक्रमित संख्याले नयाँ रेकर्ड कायम गर्दै ९० हजारको हाराहारीमा पुगेको छ । एकसाताभित्र संक्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् । बुधबार दैनिक संक्रमण  ७८ हजार भन्दा बढी रहेकोमा आज बिहीबार संक्रमित संख्या बढेर ८८ हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ३७६ संक्रमित थपिएका छन् । यो संख्या महामारीयताकै उच्च हो । यसअघि गत जनवरीमा लकडाउन जारी रहंदा सबैभन्दा उच्च संक्रमित संख्या ६८ हजार पुगेको थियो ।

बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड दश लाख ९७ हजार ८५१ पुगेको छ । बेलायतमा एकसातामा चार लाख ४२ हजार भन्दा बढी संक्रमित थापिएको सरकारी तथ्यांकमा उल्लेख छ ।

क्रिसमसको समय नजिकिंदै गर्दा कोरोना संक्रमण दर तीव्र रुपमा बढेपछि यसपटक पनि जनमानसमा क्रिसमसमा लकडाउन हुन्छ भन्ने त्रास बढेको छ । तर, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने लकडाउन हुने सम्भावना न्यून रहेको बताउंदै आएका छन् ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४६ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार ९३७ पुगेको छ । पछिल्लो २४ घन्टामा ८४९ संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ५ सय ७९ छ । यस्तै ८८६ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा संक्रमण दर तीव्र रुपमा बढेको भन्दै सरकारले बेलायतबाट जाने यात्रुहरुका लागि कडा नियम लागू गर्ने जनाएको छ । शनिबारबाट उक्त नयाँ नियम लागू गरिने भएको छ । कोरोना संक्रमणको नयाँ भेरिएन्ट ‘ओमोक्रोन’ का कारण बेलायतमा हालसम्म दश हजार भन्दा बढी संक्रमित भइसकेका छन् । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोनको दैनिक संक्रमण संख्या दुई लाखसम्म पुग्ने बताएका छन् ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ३७ लाख १९ हजार ६२३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ६० हजार ९८७ जना अर्थात ८९.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ६८ लाख ८१ हजार २९१ जना अर्थात ८१.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी २ करोड ५४ लाख ७७ हजार ३४५ अर्थात ४४.३ प्रतिशतले ‘बुस्टर’ डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू