शुक्रबार, माघ २५, २०८१
05:20 | ११:०५

किरात राई यायोक्खा बेलायतमा मेजर राईको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

नेपाली लिङ्क डिसेम्बर १२, २०२१

लण्डन । किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशनबाट अध्यक्षमा मेजर योगेश राई निर्वाचित भएका छन् । शनिवार लण्डनको साउथ ह्यारोमा सम्पन्न महाधिवेशनबाट मेजर राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

महाधिवेशनले राईको अध्यक्षतामा २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नवनिर्वाचित उपाध्यक्षहरुमा राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई र शंकर राई छन् । समितिको महासचिवमा देवेन्द्र राई ‘खेरेस’ तथा उपमहासचिवमा ईश्वर चाम्लिङ र किसन राई निर्वाचित भएका छन् । महाधिवेशनबाट सचिवमा रोम मुकारुङ राई र उमिरा राई, कोषाध्यक्ष प्रसाद राई र सहकोषाध्यक्षमा नीता राई र चन्द्र जयपाल राई निर्वाचित भएका छन् 

त्यसैगरि सदस्यहरुमा शान्ता राई, पेन्डुलाल राई, शोभा राई, सुरेश राई, मनिकला राई, निर्मला मादेन राई र किसन राई निर्वाचित भएका छन् ।

महाधिवेशनका प्रमुख अतिथि किरात राई यायोक्खा नेपालका अध्यक्ष दिवस राईले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गरेका थिए । किरात राईहरुको संख्या विदेशमा बढदै जानु सुखद पक्ष रहेको बताउंदै राईले बेलायतमा किरात राई यायोक्खा बलियो र सबल बनेको बताए । उनले संस्थालाई व्यक्ति केन्द्रित भन्दा पनि विधि विधानको आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । कोही व्यक्ति आउँछ जान्छ, तर किरात राई यायोक्खा सदैव रहिरहने भन्दै उनले विधि, विधानलाई सबैले शिरोपर गनुपर्ने बताए ।

‘संस्थामा केही विवाद, असजिलाहरु हुन्छन् तर त्यसलाई हल गर्ने भनेको विधि विधान हो । व्यक्तिगत रुपमा कसैलाई मन नपर्न सक्छ तर विधि विधानले जे निर्देशित गर्छ त्यही गर्नुपर्छ’,  उनले भने, ‘कसैको फरक मत भएपनि विधि, विधानबाट नै वैधानिक तवरले हल हुनुपर्छ ।’

महाधिवेशन उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङले संस्था बलियो भए सबैको पहिचान र अस्तित्व रहिरहने बताए । संस्थालाई बलियो बनाउनका लागि सबै किरात राईहरु एकढिक्का भएर अगाडि जानुपर्ने आवश्यकता रहेको उनले बताए । ‘आजको आवश्यकता भनेको सबै किरात राईहरु एकजुट हुनु हो, फुटेर होइन जुटेर जानुपर्छ’, उनले भने ।

महाधिवेशन उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले पनि शुभकामना मन्तव्य राखेका थिए । उनले किरात राई यायोक्खालाई आदिवासी जनजाति महासंघले भरपुर सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

महाधिवेशनमा बेलायतका १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित २ सय ५० बढीको सहभागिता थियो । महाधिवेशनमा प्रारम्भिक कार्यसमितिहरुले कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

महाधिवेशनको बन्द सत्रमा महासचिव नरेश काङमाङ राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमा गहन छलफल भएको थियो ।

महाधिवेशनमा संशोधित विधानलाई उपाध्यक्ष प्रेम राईले प्रस्तुत गरेका थिए । बन्द सत्रमा महासचिव नरेश काङमाङ राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उपस्थित प्रतिनिधिहरुले सामूहिक रुपमा छलफल गरेका थिए । छलफलपछि प्रस्तुत भएका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो ।

बन्द सत्रको अध्यक्षता किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष यशोदा राई र निर्वाचन समितिको अध्यक्षता पूर्व अध्यक्ष डा. सुमाया राईले गरेका थिए  । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य उपाध्यक्ष राजकुमार राईले र सञ्चालन महासचिव नरेश काङमाङ राईले गरेका थिए । 

महाधिवेशनमा छलफल भएको विषयमा डा. मूलवीर राई र गीतकार ईश्वर चाम्लिङले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताको तर्फबाट टिप्पणी प्रस्तुत र घोषणापत्र डा. मुलवीर राईले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि मेजर योगेश राईले तत्कालीन र दीर्घकालिन रणनीतिक अवधारणाहरु समेत सार्वजानिक गरेका छन् । अध्यक्ष राईले बेलायतमा रहेका सम्पूर्ण किरात राईहरुलाई एकताको सुत्रमा बांधेर अन्य जातजातिहरुसंग भाइचाराको रुपमा सम्बन्ध स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

महाधिवेशनको अन्त्यमा निर्वाचित भएका सम्पूर्णलाई निर्वाचन समितिका अध्यक्ष डा. सुमाया राईले शुभकामना व्यक्त गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू