शुक्रबार, वैशाख ७, २०८१
02:00 | ०६:४५

अघि बढ्यो एनआरएनए निर्वाचन प्रक्रिया, प्रथम मतदाता नामावली प्रकाशन

नेपाली लिङ्क डिसेम्बर ६, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको लागि मतदाता नामावली प्रकाशन भएको छ ।  

घोषित निर्वाचन तालिकाअनुसार निर्वाचन समितिले सोमबार मतदाताको प्रथम नामावली प्रकाशन गरेको हो । मतदाता सूचीमा ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम समावेश छ ।

मतदाता नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

निर्वाचन प्रक्रिया पूरा नभएको भन्दै यूके, अमेरिका, अष्ट्रेलिया र जापानसहितका मुलुकका २५ प्रतिशत प्रतिनिधिहरुको नाम भने प्रकाशन गरिएको छैन् । 

संघको विधान अनुरुप निर्वाचन प्रक्रिया वा आम सहमतिको आधारमा मतदाता नामावली प्रकाशन गर्न नसकेपछि ती देशका २५ प्रतिशत प्रतिनिधिहरु महाधिवेशनमा भाग लिनबाट बन्चित हुने अवस्थामा पुगेको जनाइएको छ  

प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलद्धारा जारी सूचना अनुसार क्यानाडा, कोष्टारिका, अमेरिका, जापान, फिलिपिन्स, बेलारुस, साईप्रस, युके, यूएई र अष्ट्रेलिया सदस्यता शुल्क केन्द्रमा नबुझाउने सूचीमा परेका छन् । 

एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ (डिसेम्बर २६ र २७ तारिख) मा निर्वाचन हुनेगरी तालिका सार्वजनिक भइसकेको छ ।  

निर्वाचन समितिका अनुसार तोकिएकै मितिमा निर्वाचन हुने छ । मंसिर २० मा मतदाता नामावाली प्रकाशन, २१ मा मतदाता नामावलीउपर दाबीविरोध, २४ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै मंसिर २५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ मा उम्मेदवारविरुद्ध दाबीविरोध, २८ मा उजुरीउपर निर्णय, २९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ मा उम्मेदवारको मनोनयन पत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै पुस ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

संघको १० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सय जनाले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए निर्वाचनका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रहरु कार्यान्वायन नगर्नु भन्ने उच्च अदालतको आदेशपछि निर्वाचन प्रक्रिया तोकिएको तालिकामै अघि बढाइएको  हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू