बुधबार, वैशाख १२, २०८१
00:28 | ०५:१३

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको नाम संसदीय समितिबाट अनुमोदन

नेपाली लिङ्क डिसेम्बर ६, २०२१

संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य आफनो धारणा व्यक्त गर्दै । तस्बिर- रासस

कठमाडौँ । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संघीय संसद् संसदीय सुनुवाइ समितिले सोमबार बेलायतका साथै भारत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

समितिको बैठकमा बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित डा. शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीले समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत गर्ने क्रममा नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्रयाउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाएका थिए ।

उनीहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पुरयाई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवद्र्धनका लागि जोड दिने बताए ।

प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानूनी व्यवस्था छ । बेलायतलाई प्रस्तावित आचार्यको नाममा बेलायत सरकारले एग्रिमा पठाउन क्रिसमस र नयाँ वर्षअघि पर्याप्त समय नभए त्यसलगत्तै हुन सक्ने देखिन्छ ।

उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँः प्रस्तावित राजदूतत्रय

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्रयाउन भरमजदुर प्रयास गर्ने बताएका छन् ।

संसदीय सुनुवाइका क्रममा उनीहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोट व्यक्त गरेका हुन् ।

यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्रयाउन सुझाव दिए । उनीहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि भित्रयाउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन पनि दिए ।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता बोलाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुक्तिका लागि बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट उनीहरुको नियुक्ति हुनेछ । प्रस्तावित तीनैजना नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचय बनाएका व्यक्तित्व हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू