बिहीबार, वैशाख १३, २०८१
11:40 | १६:२५

बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाई सकियो

गोर्खाको समान पेन्सनका लागि पहल गर्ने प्रतिवद्धता

नेपाली लिङ्क डिसेम्बर ६, २०२१

लन्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको संघीय संसद्को संसदीय सुनुवाइ सकिएको छ । कांग्रेससहितका दलका सांसद महाधिवेशनमा व्यस्त रहेका कारण यसअघि तय गरिएको उनको सुनुवाइ पछि सरेको थियो ।

सुनुवाइका अवसरमा आचार्यले आगामी दिनमा आर्थिक र राजनीतिक सम्बन्ध विस्तारका लागि काम गर्नुपर्ने बताउंदै बेलायतको अर्थतन्त्र, उसको विश्व राजनीति र अर्थतन्त्रमा प्रभाव, कुटनीतिक प्रतिनिधित्व ख्याल गरेर नेपालले लाभ लिनेगरी प्रस्तुत हुनुपर्ने बताए ।

आफू राजदूत भएमा यिनै कुरालाई प्रथामिकतामा राख्ने उनले बताएका छन् । नेपाल र बेलायतबीच राजनीतिक, आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि दूतावास र सरकारले भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

दुवै देशबीच उच्चस्तरीय भ्रमण गरि राजनीतिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने पनि उनले बताए । बेलायतबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण भएको छैन्, यसका लागि दूतावास र सरकारका तर्फबाट पहल गरिनुपर्नेमा उनले जोड दिए ।

बेलायतबाट नेपालमा आर्थिक सहयोग ल्याउने क्रममा गरिबी निवारण, कोरोना संक्रमण र प्राकृतिक संकटमा सहयोग ल्याउनुका साथै आर्थिक विकासका लागि सहयोग ल्याउन सकिने उनले बताए । ब्रिटिश गोर्खाहरुको बारेमा उनले नेपालको बेलायतसँगको सम्बन्ध ब्रिटिस गोर्खाले पनि जोडेको बताउंदै ब्रिटिस गोर्खाको समान पेन्सनका लागि पहल लिनुपर्ने पनि बताए ।

बेलायतसँग व्यापार प्रवर्द्धनमा पनि नेपालको दूतावासले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । बेलायतमा बजारको पहुँच बढाउने र नेपालमा बेलायतको प्रविधि एवं लगानी ल्याउनुपर्ने आचार्यले बताए । नेपालमा पर्यटन र प्रविधिका क्षेत्रमा लागानी ल्याउन सकिने उनको भनाइ थियो ।

द्वीपक्षीय सम्बन्धमा नेपालले राष्ट्रिय हित र उसको स्वार्थ हेर्नुपर्ने पनि आचार्यको भनाइ थियो । त्यसका लागि संविधान, परराष्ट्र मन्त्रालय र त्यसका विभिन्न निकायको रहेको उनको सुझाव थियो ।

यसअघि केपी ओली सरकारबाट बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीलाई शेरबहादुर देउवा सरकारले फिर्ता बोलाएको थियो । गत मार्च १ मा आफ्नो कार्यकाल सम्हालेका रेग्मी ८ महिना नपुग्दै अक्टोबर २४ मा नेपाल फर्किएका हुन् ।

बेलायतबाट राजदूत फर्किएपछि अहिले लन्डन दूतावासकी नियोग उपप्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू