शुक्रबार, चैत १६, २०८०
13:33 | १९:१८

ओमिक्रोनका आठ संक्रमित देखिएपछि अमेरिकामा यात्रामा कडाइ

रासस/एएफपी डिसेम्बर ३, २०२१

राष्ट्रपति जो बाइडेन । तस्बिर- एएफपी

वासिङ्टन १७ मङ्सिर– अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ संक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर, बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निणर्यमा पनि परिवर्तन नहुने बताए ।

न्यूयोर्क राज्यमा पाँच जना तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको संक्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन संक्रमण देखिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ। बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूणर् मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू