शनिबार, माघ ८, २०७८
05:24 | ११:०९

बेलायतमा दैनिक संक्रमण ५० हजार बढी, थप प्रतिबन्ध हुनसक्ने

नेपाली लिङ्क डिसेम्बर ३, २०२१

लन्डन । बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोन नियन्त्रण गर्न सरकारलाई थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ ।

आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियम पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।

पछिल्लो दुई दिनयता दैनिक संक्रमित संख्या ५० हजार माथी छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको शुक्रबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् ।

अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९  हजार ६४७ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४३ जनाको गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८३१ जना संक्रमितको ज्यान गएको छ ।

यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४५ हजार ४२४ पुगेको छ ।

बेलायतमा अहिले ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । ओमिक्रोन संक्रमण देखा परेपछि बेलायत सरकारले बुस्टर डोजलाई थप तीव्रता दिएको छ । बुस्टर डोज नयाँ भाइरसको लागि पनि प्रभावकारी हुने बीबीसीले जनाएको छ ।

बेलायतमा हालसम्म एक करोड ९४ लाख ३६ हजार ८८५ जनाले बुस्टर डोज लिइसकेका छन्। दैनिक ४ लाख भन्दा बढीले उक्त खोप लिइरहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यसैगरी  पाँच करोड १० लाख ४६ हजार  १३३ जना अर्थात ८८.८ प्रतिशतले खोपको पहिलो र ४ करोड ६४ लाख ६२ हजार ६३८ जना अर्थात ८०.८ प्रतिशतले खोपको दोस्रो डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू