शुक्रबार, वैशाख ७, २०८१
19:00 | २३:४५

आजबाट बेलायत प्रवेशमा थप कडाइ, मास्क अनिवार्य

नेपाली लिङ्क नोभेम्बर ३०, २०२१

लण्डन । साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ ।

नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका थिए ।

सरकारले आइतबार एक सूचना जारी गर्दै नोभेम्बर ३० तारिख बिहान ४ बजेपछि बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ । पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ ।

यसअघि बेलायत भित्रिने यात्रुहरुले दोस्रो दिनमा सामान्य ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा कोभिडको नयाँ भेरियन्ट फेला परेपछि पिसिआर टेस्ट अनिवार्य गरिएको हो ।

यदि परीक्षणको नतिजा पोजेटिभ भेटिएमा नेगेटिभ नतिजा नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । तर, यसअघि भने पोजिटिभ नतिजा आएपनि १० दिन आइसोलेसनमाबसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।

आजैबाट लागू हुनेगरी सार्वजनिक यातायात र पसलहरु, हेयरड्रेसर, बैंक तथा पोष्ट अफिसलगायतमा मास्क अनिवार्य गरिएको छ ।

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु थपिंदै गएपछि स्वास्थ्यमन्त्री साजिद जाभिदले मास्क लगाउन अनिवार्य गरेका हुन् ।

सरकारको नियम पालना नगरे एक सय देखि छ हजार चार सय पाउण्ड जरिवाना तिर्नुपर्नेछ । पहिलोपल्ट दुई सय पाउण्ड जरिवाना गरिनेछ तर, दुई हप्ताभित्र भुक्तानी गरेमा एक सय पाउण्ड मात्र तिरे पुग्छ ।

लगातार नियम अवज्ञा गरेको पाइए प्रत्येक पटक जरिवाना दोब्बर हुँदै बढीमा छ हजार दुइ सयसम्म पुग्नेछ । पब, रेष्टुरेन्ट, सिनेमा, थिएटर जस्ता स्थानमा भने मास्क अनिवार्य छैन ।

नयाँ भेरियन्ट ‘ओमिक्रन’ फेला परेलगत्तै सरकारले दश वटा अफ्रिकन मुलुकलाई यात्रा प्रतिवन्धको ‘रेड लिष्ट’ मा राखेको छ । रेड लिष्टमा परेका मुलुकमा एंगोला, बोत्स्वाना, इस्वाटिनी, लेसोठो, मलावी, मोजाम्बिक, नामिबिया, साउथ अफ्रिका, जाम्बिया र जिम्बावे छन् ।

उक्त मुलुकबाट बेलायत आउने यात्रुले ११ रातको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ भने सोबापत लाग्ने खर्च दुई हजार २८५ पाउण्डसमेत स्वयमले व्यहोर्नुपर्नेछ । आइसोलेसन नियम उलंघन गरेको पाइएमा पाँच सय पाउण्ड देखि दश हजार पाउण्ड सम्म जरिवाना गरिनेछ ।

सरकारले संक्रमण नियन्त्रण प्रयासमा कोभिड खोपको तेस्रो मात्रा ‘बुस्टर’ पनि अब झन् ठूलो जनसंख्यालाई बांड्ने तयारी थालेको छ ।

दोस्रो डोज लगाएको छ महिना भएको हुनुपर्ने यस अघिको नियमको सट्टा अब तीन महिना कायम गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू