बिहीबार, वैशाख १३, २०८१
01:49 | ०६:३४

बुद्ध फाउन्डेसन यूकेमा आयो नयाँ कार्यसमिति, अध्यक्षमा पुन: श्रेष्ठ

नेपाली लिङ्क नोभेम्बर २९, २०२१


लन्डन ।बेलायतस्थित एक सक्रिय संस्था ‘बुद्ध फाउन्डेसन यूके’ मा नयाँ नेतृत्व चुनिएको छ।

आइतबार लन्डनमा सम्पन्न संस्थाको पहिलो अधिवेशनले दीपक श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।  

फाउन्डेसनका संस्थापक एवम् पहिलो कार्यसमितिका अध्यक्ष श्रेष्ठले नै आगामी तीन वर्षका लागि नेतृत्व पाएका हुन् । 

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ छन् भने उपाध्यक्षमा जीवन सेन, अर्जुन कटुवाल र प्रसुना कंडेल निर्वाचित भएका छन् । महासचिवमा लक्ष्मी राई (लारा), सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्षमा तेजेन्द्र रोकामगर र सहकोषाध्यक्षमा निरञ्जन खड्का चयन भएका छन् ।  

त्यसैगरी, प्रवक्तामा लछुमन गुरुङ, इभेन्ट संयोजकमा ह्यारी गुरुङ र सहसंयोजकमा पन्डित निलहरि घिमिरे, महिला संयोजकमा वन्दना केसी र सहसंयोजकमा मेनका खांड, युवा संयोजकमा किशोर राना, खेलकुद  संयोजकमा चन्दन गुरुङ, मिडिया संयोजकमा बाचस्पति रेग्मी, सामाजिक सञ्जाल संयोजकमा दीपक मैथाने, आइटी संयोजकमा सन्तोष मन्डल तथा सांस्कृतिक संयोजकमा सुर्य गुरुङ र सहसंयोजकमा दिलु गुरुङ चुनिएका छन् । 

कार्यसमिति सदस्यहरुमा कृष्ण भण्डारी (वेल्स), विजय डंगोल (स्कटल्यान्ड), नारायण कुँवर (नर्दन आयरल्यान्ड), रविन्द्र शर्मा (मिडल्यान्ड), धनराज मल्ल, सुक गुरुङ, अर्चना गुरुङ, अञ्जना थापा, प्रतिमा जोशी, इश्वर महर्जन, मीननहादुर पुन, दीर्घ केसी, रामकुमार थापा, जय श्रेष्ठ र गोकुल खरेल चयन भएका छन् ।


निर्वाचन समितिका प्रमुख आयुक्त शिवजी श्रेष्ठले सर्वसम्मतिमा निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।  

यसअघि फाउन्डेसनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदनहरुमाथि छलफल गर्दै पारित गरिएको थियो । विधान समितिका संयोजक फडिन्द्र भट्टराईले प्रस्तुत गरेको विधान पनि संशोधनसहित पारित गरिएको थियो ।  

निवर्तमान समितिका तर्फबाट महासचिव अर्जुन कटुवालले वार्षिक तथा कोषाध्यक्ष राजन खकुरालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । स्वागत मन्तव्य राख्दै उपाध्यक्ष सचिन श्रेष्ठले संस्थाका हालसम्मका गतिविधि र भावी योजनाबारे ‘पावरपोइन्ट प्रिजेन्टेसन’ गरेका थिए ।  

अधिवेशन उद्घाटन गर्दै कार्यवाहक राजदूत रोशन खनालले बुद्ध फाउन्डेसनले स्थापनाको छोटो समयमै उल्लेखनीय कार्यहरु गर्न सफल भएको भन्दै प्रशंसा गरिन् । खनालले नेपालको पर्यटन प्रवर्द्धन, बुद्धका शान्ति सन्देशहरुको प्रचार प्रसार जस्ता फाउन्डेसनका कार्यहरुमा दूतावासको सधैं साथ, सहयोग र सहकार्य रहने प्रतिवद्धता जनाइन् ।  

त्यसअवसरमा बेलायतका लागि पर्यटन दूत महन्थ श्रेष्ठ, एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, प्रमुख निर्वाचन आयुक्त शिवजी श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, बिसीसी यूके संस्थापक अध्यक्ष काजी शेर्पा लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।  


कार्यक्रममा बिएनसीसी अध्यक्ष डा कपिल रिजाल, आरजीएनएस अध्यक्ष जीत रानाभाट, क्याट यूके अध्यक्ष रितेशराज पाण्डे, प्रवासी नेपाली मञ्च युरोपका उपाध्यक्ष विनोद ज्ञवाली, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल, पत्रकार करुण अर्याल, पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नवीन पोखरेल र सचिव मञ्जु भण्डारी, पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, दिदीबहीनी समूहका श्रद्धा थापा, रञ्जना केसीसहित बेलायतको नेपाली समुदायका अगुवा तथा अभियन्ताहरुको पनि सहभागिता थियो ।

दोस्रो कार्यकाललाई निर्वाचित अध्यक्ष श्रेष्ठले आफूमाथिको विश्वासका लागि सबैप्रति आभार व्यक्त गरे । पहिलो कार्यकालमा आफूलाई साथ दिने सिंगो कार्यसमिति, सल्लाहकार एवम् बेलायतस्थित नेपाली समुदायलाई धन्यवाद दिंदै उनले आउंदो कार्यकालमा थप सशक्त रुपमा काम गर्ने प्रतिवद्धता गरे ।  

त्यसअवसरमा निवर्तमान कार्यसमितिमा कोषाध्यक्षको भूमिका निर्वाह गरेका युवा अभियन्ता राजन खकुराललाई फाउन्डेसनले धन्यवादसहित बिदाइ गरेको थियो ।  

लन्डनको बार्किङस्थित स्पटेड डग पबको पार्टी हलमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई ‘गाउँले चुल्हो’ ले स्वादिलो नेपाली परिकारसहित लञ्च गराएको थियो । कार्यक्रमको स्टेज सजावट अर्जुन शाहीले गरिदिएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू