बिहीबार, वैशाख १३, २०८१
04:57 | ०९:४२

सन्तोष फेरी नेपाली खाना लिएर बीबीसी मास्टरसेफ प्रतिस्पर्धामा जांदै

नेपाली लिङ्क नोभेम्बर २८, २०२१

लन्डन । ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उपविजेता बनेका नेपाली सेफ सन्तोष शाह फेरी मास्टर सेफको प्रतिस्पर्धामा जाने भएका छन् ।

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सेफ सन्तोष ‘रिम्याच’ अन्तर्गतको विधामा सहभागी हुन लागेको सन्तोषले बताए ।

यसमा अन्तिम चार प्रतिस्पर्धीले भाग लिन पाउनेछन् । यसपाली सन्तोषले आमाको हातबाट बनाएका तराइका बिर्या, तिलौरी जस्ता खाना लिएर प्रतिस्पर्धा गर्नेछन् । ‘यसअघिको कार्यक्रममा तराइको खानलाई समेट्न पाएको थिइन् त्यसैले यसपटक तराइको खाना पस्किने तयारीमा छु’, सन्तोषले नेपाली लिंकलाई बताए ।

यसपाली उनले एउटा मौलिक परिकार ‘कुखुराको तिते’ पनि आफ्नो परिकारमा समावेश गर्नेछन् । करिब पाँच महिना नेपाल बसाइमा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यसपटक प्रतिस्पर्धाको तयारी गरिरहेको सन्तोषले बताए । ‘नेपाली खानालाई फेरी पनि विश्वमाझ चिनाउने अवसर प्राप्त गरेको छु, सबैको माया र आशिर्वादले यसपटक सफलता मिल्ने आशा गरेको छु’- सन्तोषले भने ।

क्रिसमसको अवसरमा प्रसारण गरिने उक्त रियालिटी शो क्रिसमसवीकमा हुने भएपनि मिति भने तय भएको छैन् ।

सन् २०२० को प्रतिस्पर्धाको विभिन्न राउन्डमा विदेशी खाना र विदेशी सेफलाई पछि पार्दै फाइनल राउण्डसम्म पुगेका सन्तोषले यसपटक आफ्नो मास्टर सेफ हुने सपना बोकेका छन् ।

३२ जना चर्चित सेफबाट शुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ शाहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए । आफू विजेता नभएपनि विश्वसामू नेपाली खाना पुरयाएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै उनको विजय मानिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू