शनिबार, वैशाख १५, २०८१
00:29 | ०५:१४

नयाँ भेरियन्ट देखिएसंगै थप कडाइतर्फ बेलायत, देश भित्रिने सबैलाई पिसिआर अनिवार्य

नेपाली लिङ्क नोभेम्बर २७, २०२१

लन्डन । उल्लेखनीय मात्रामा खोप वितरणका बाबजुद कोभिड संक्रमण नियन्त्रणउन्मुख नदेखिएपछि बेलायत सरकारले थप कडाइ घोषणा गरेको छ ।  

शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैलाई अबदेखि पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गरेका छन् । जसअनुसार बेलायत भित्रिएको दोस्रो दिनमा अनिवार्य रुपमा पिसिआर टेस्ट गर्नुपर्नेछ भने उक्त टेस्टमा नेगेटिभ नतिजा नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । 

यसअघि खोपको पूर्ण मात्रा लगाएका यात्रुलाई पिसिआर टेस्टको ठाउँमा सस्तो र सहज ‘ल्याटरल फ्लो टेस्ट’ गरे पनि पुग्ने सुविधा थियो ।  

पछिल्लोपटक बेलायतमा साउथ अफ्रिकामा उत्पन्न भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का दुई केस भेटिएलगत्तै सरकार थप कडाइतर्फ लागेको हो । प्रधानमन्त्री जोन्सनले नयाँ भेरियन्टको केसमा खोपले काम गर्छ वा गर्दैन भनेर ढुक्क भन्न सकिने अवस्था आइनसकेको बताए ।  

प्रधानमन्त्री जोन्सनले सार्वजनिक यातायात र स्टोरहरुमा जाँदा फेस मास्क अनिवार्य गर्ने तयारी पनि रहेको जानकारी गराए । तर फेसमास्कको नियमसम्बन्धि पूर्ण विवरण आगामी साता स्वास्थ्यमन्त्री साजिद जाभिदले सार्वजनिक गर्ने उनले बताए ।  

सरकारले संक्रमण नियन्त्रण प्रयासमा कोभिड खोपको तेस्रो मात्रा ‘बुस्टर’ पनि अब झन् ठूलो जनसंख्यालाई बांड्ने तयारी थालेको छ ।  

प्रधानमन्त्री जोन्सनले नयाँ कडाइहरु चांडो हट्ने आशा व्यक्त गरेका छन् । तर, उनले संक्रमण नियन्त्रणमा नआए यसअघि चर्चा गरिएजस्तै ‘प्लान बी’ का थप कडाइहरु लागू  हुने सम्भावना पनि अस्वीकार गरेका छैनन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू