बिहीबार, चैत १५, २०८०
14:15 | २०:००

‘बाजेको सेकुवा’ अब बेलायतमा पनि, अल्डरसट र वुल्लिचमा रेष्टुरेन्ट खोल्ने तयारी

नेपाली लिङ्क नोभेम्बर २०, २०२१

लन्डन । के तपाईं  बेलायतमा बस्ने नेपाली खानाको पारखी हुनुहुन्छ ? काठमाडौंका रेष्टुरेन्टहरुमा पाइने मौलिक नेपाली पाराका स्वादिलो परिकारहरु बेलयतमा रहंदा मिस गरिरहनुभएको छ ? तपाईंको लागि एउटा खुशीको खबर छ- नेपालको सर्वाधिक लोकप्रिय रेष्टुरेन्ट ‘बाजेको सेकुवा’ को शाखा अब बेलायतमै खुल्ने भएको छ । 

बेलायतस्थित युवा व्यवसायी विष्णु खरेलले बाजेको सेकुवालाई बेलायत ल्याउन लागेका हुन् । एनआरएनएनए यूकेका कोषाध्यक्ष समेत रहेका सफल रेष्टुरेन्ट व्यवसायी खरेलले बेलायतका दुई स्थानमा बाजेको सेकुवा सञ्चालन गर्न रेष्टुरेन्टको सञ्चालक कम्पनीसँग लाइसेन्स एग्रिमेन्ट गरिसकेको जनाएका छन् ।  

गतसाता काठमाडौंमा व्यवसायी खरेल र बाजेको सेकुवाका सञ्चालकहरुबीच बेलायतको फ्रेन्चाइज सम्झौतासम्बन्धि पत्रमा हस्ताक्षर समेत भइसकेको खरेलले जानकारी दिए ।  

उनका  अनुसार उनले शुरुमा ५ वर्षको लागि रेष्टुरेन्टको लाइसेन्स एग्रिमेन्ट गरिएको छ । बेलायतको नेपाली राजधानी मानिने अल्डरसट र साउथ इष्ट लन्डनको वुल्लिचमा रेष्टुरेन्टका दुई शाखा सञ्चालन हुनेछन् ।  

बेलायतमा केही महिनाभित्रै शुरु गर्ने तयारी

बेलायतमा बाजेको सेकुवाको फ्रेन्चाइजसम्बन्धि लाइसेन्स एग्रिमेन्टमा हस्ताक्षर भएलगत्तै अब बेलायतमा रेष्टुरेन्ट खोल्ने तयारी शुरु गरिएको छ ।

केही महिनाभित्रै  बेलायतमा बाजेको सेकुवा सञ्चालनमा ल्याइने जानकारी व्यवसायी खरेलले दिएका छन् । उनले भने,  ‘नेपालको सबैभन्दा लोकप्रिय रेष्टुरेन्ट ब्रान्ड बेलायतमा ल्याउने अवसरले हामीलाई निकै उत्साहित बनाएको छ । यो खबरले बेलायतवासी सबै नेपालीहरुलाई पनि उत्साहित बनाउनेछ भन्ने हामीलाई विश्वास छ ।त्यसैले हामी कत्ति ढिला नगरी रेष्टुरेन्ट   शुरु गर्ने तयारीमा लाग्दैछौं ।’ 

वुल्लिच र अल्डरसट दुवै स्थानमा रेष्टुरेन्टको लागि उपयुक्त  भेन्यूका विकल्पहरु हेर्न थालिसकेको पनि खरेलले सुनाए । 

मेन्यू, रेसिपीदेखि सेटिङ पनि उस्तै 

नेपालमा अत्याधिक रुचाइएको बाजेको सेकुवा बेलायतमा कसरी र कुन रुपमा सञ्चालन होला ? के ग्राहकले नेपालमा मन पराएको मेन्यू र स्वाद बेलायतमा पनि उस्तै पाउलान् त ? 

बेलायतमा ल्याउँदा बाजेको सेकुवाको फ्लेवर मर्न नदिने अठोट   सञ्चालकको छ । बेलायतका सञ्चालक खरेलका अनुसार यहाँ सञ्चालन हुने दुवैको रेष्टुरेन्टहरुको ट्रेडिङ नाम, मेन्यू, रेसिपी सबै बाजेको सेकुवाकै रहनेछ । रेष्टुरेन्टको सेटिङ, सजावट, टेबल लेआउट, परिकारहरुको प्रिजेन्टेसन, परिकार पस्किने प्लेटहरुदेखि आतिथ्य सत्कार शैलीसम्म नेपालकै जस्तै राख्ने कोशिश गरिनेछ ।  

‘पहिलो कुरा त स्वाद हो । बेलायतमा पनि नेपालकै रेसिपीअनुसारको उही स्वाद हामी सर्भ गर्नेछौं’, खरेलले भने, ‘त्यसबाहेक रेष्टुरेन्टमा बस्दा हरेक ग्राहकलाई  नेपालकै बाजेको सेकुवा फिल गराउने हाम्रो प्रयत्न रहनेछ ।’ 

बेलायतका दुवै रेष्टुरेन्टका लागि सेफहरुलाई बाजेको सेकुवाकै किचनमा  तालिम गराइने खरेल बताउंछन् । ‘शुरुमा केही सेफहरु नेपालकै किचनमा तालिम गराउनेछौँ । उनीहरुले पछि बिस्तारै अरुलाई पनि तालिम गराउनेछन्’- खरेलले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू