रेष्टुरेन्ट च्यारिटी डिनरबाट जम्मा रकम बेलायती अस्पताललाई सहयोग


लन्डन । बेलायतको पिटरबरोमा नेपाली व्यवसायीद्धारा सञ्चालित एक रेष्टुरेन्टले च्यारिटी डिनर गरी स्थानीय अस्पताललाई सहयोग गरेको छ ।
युवा सामाजिक अभियन्ता पवन शर्मा सञ्चालक रहेको ‘२०२० वर्ल्ड बफेट’ मा गतासाता आयोजित च्यारिटी डिनरबाट संकलित रकम अस्पताललाई सहयोग गरिएको हो ।
मास्टर सेफ प्रोफेसनल्सका फाइनलिस्ट नेपाली सेफ सन्तोष साह समेतको सहभागितामा च्यारिटी डिनर गरिएको थियो । डिनरमा सहभागीहरुलाई सेफ साहले कोदोको खीर चखाएर मौलिक नेपाली खानाको स्वाद दिलाएका थिए ।
२०२० वर्ल्ड बफेटका सञ्चालक शर्माका अनुसार च्यारिटी डिनरमा २ हजार पाउण्ड जम्मा भएको थियो । जसबाट १५ सय पाउण्ड स्थानीय पिटरबरो अस्पतालको डिमेन्सिया एन्ड पार्किन्सन विभागलाई प्रदान गरिएको छ । बाँकी ५ सय पाउण्ड त्यस क्षेत्रमा सडक जीवन बिताइरहेका बेलायतीहरुलाई सहयोग गरिएको छ ।
मास्टर सेफ फाइनलिस्टको सहभागिता रहेको च्यारिटी डिनरमा रेष्टुरेन्टका नियमित ग्राहकहरुको साथै पिटरबरो र मिडल्याण्डका विभिन्न क्षेत्रबाट नेपाली समाजसेवीहरु समेत सहभागी भएका थिए ।
कोभिड महामारीका कारण सिर्जित चुनौतिपूर्ण अवस्थामा सर्वसाधारणको सेवामा खटिने अस्पताल र स्वास्थ्यकर्मीहरुको हौसला तथा प्रसंशास्वरुप च्यारिटी डिनर आयोजना गरिएको बफेटका सञ्चालक शर्माले बताए । नेपाली व्यवस्थापनमा सञ्चालित रेष्टुरेन्टले बेलायतको अस्पताललाई सहयोग दिंदा यसले समग्र नेपाली समुदायकै बारेमा सकारात्मक सन्देश जाने विश्वास आफूले राखेको उनले बताए ।
स्थानीय स्तरमा नेपाली समुदायको उपस्थिति देखाउने अवसरका रुपमा पनि कार्यक्रमको सोच बनाइएको सञ्चालक शर्माले सुनाए । ‘नेपाली समुदायका सदस्यहरुले पनि व्यवसाय चलाउने, स्थानीय समुदायलाई आवश्यक पर्दा सहयोग गर्नेसम्मको हैसियत बनाएका छन् भनेर देखाउने मौका मिलेको छ’, उनले भने-‘सेफ सन्तोष साहको उपस्थितिले नेपाली कुइजिन र सेफहरु कसरी अन्तराष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न र लोकप्रियता कमाउन सफल छन् भन्ने देखाइदिएको छ ।’
पिटरबरो सिटी अस्पतालमा ६० भन्दा बढी नेपालीले रोजगारी पाएको जानकारी दिंदै शर्माले आफ्नो सहयोग उनीहरुको लागि पनि गौरवको विषय बन्ने आशा व्यक्त गरे ।
च्यारिटी डिनरलाई सफल पार्न योगदान गर्ने सेफ साह, स्थानीय नेपाली समुदायका अभियन्ताहरुसंगै सम्पूर्ण ग्राहक र आफ्नो रेष्टुरेन्टको टीमप्रति शर्माले आभार प्रकट गरेका छन् ।
पिटरबरोमा बस्दै आएका युवा व्यवसायी शर्माले गत वर्षदेखि २०२० वर्ल्ड बफेट सञ्चालनमा ल्याएका हुन् । ५ सय ग्राहक क्षमता रहेको बफेटमा नेपाली, इण्डियन, चाइनिज, इटालियन, कन्टिनेन्टल, बेलायती कुइजिन लगायतका विश्वव्यापी कुइजिनका परिकारहरु उपलब्ध छन् ।
त्यसअघि नै शर्माले पिटरबरो आसपासमा रेष्टुरेन्ट र होटेल सञ्चालन गर्दै आएका थिए । उनको लगानी र व्यवस्थापनमा स्पाल्डिङमा गोर्खा ओभन रेष्टुरेन्ट, लेष्टरशायरको ओकहममा एभरेष्ट लाउञ्ज रेष्टुरेन्ट र होटेल होटल अहिले सञ्चालनमा छन् ।
पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका शर्मा एनआरएनएसहित बेलायतस्थित विभिन्न संघसंस्थाहरुमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बन्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


