शनिबार, माघ २६, २०८१
21:09 | ०२:५४

बेलायतको नयाँ नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य सिफारिश

नेपाली लिङ्क अक्टोबर २८, २०२१


लन्डन । बेलायतका लागि रिक्त नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य सिफारिश भएका छन् । 

यसअघि देउवा सरकारले फिर्ता बोलाएका राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएलगत्तै नयाँ राजदूत सिफारिश भएका हुन् ।  

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डा शंकर शर्मा र अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री समेतलाई राजदूतमा सिफारिश गरेको छ ।  

बेलायतका लागि राजदूतमा सिफारिश आचार्य यसअघि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थिए । तत्कालिन महासचिव बान कि मुनको मातहतमा उनले उपमहासचिवको भूमिका समेत निभाएका थिए ।  

राजदूतका लागि सिफारिश गरिएपनि नियुक्तिको प्रक्रिया पूरा हुन भने महिनौँ लाग्ने गर्छ । मन्त्रीपरिषदबाट सिफारिश नाममा संसदीय सुनुवाईपछि संसदले पारित गरेर सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पठाइन्छ । ती मुलुकबाट एग्रिमो आएपछि मात्र सरकारको सिफारिशमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

यसअघि केपी ओली सरकारबाट बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीलाई शेरबहादुर देउवा सरकारले फिर्ता बोलाएको थियो । गत मार्च १ मा आफ्नो कार्यकाल सम्हालेका रेग्मी ८ महिना नपुग्दै अक्टोबर २४ मा नेपाल फर्किएका हुन् ।

बेलायतबाट राजदूत फर्किएपछि अहिले लन्डन दूतावासकी नियोग उपप्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी छन् ।  

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको जनाए ।

यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०) र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि कार्कीले जानकारी दिए ।

मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्रांकित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू