शुक्रबार, वैशाख १४, २०८१
00:33 | ०५:१८

तमुधिँ यूकेको वार्षिक रात्रिभोजमा अवार्ड र भ्यू टावरका लागि सहयोग संकलन

नेपाली लिङ्क अक्टोबर २५, २०२१

लण्डन । तमुधिँ यूकेको वार्षिक रात्रिभोज आइतबार अल्डरसटमा सम्पन्न भएको छ । अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ  र प्रमुख अतिथि नेपाली दूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले  संयुक्त रुपमा द्वीप प्रज्ज्वलन गरी कार्यक्रम आरम्भ गरेका थिए ।

हरेक वर्ष आयोअजना हुँदै आएको ‘आदर्श तमु’ अवार्डबाट पोखरा महानगरपालिका २२, कलबङ घडेरी घर भई हाल रेडिङ बसोबासरत श्रीमती यशोधा गुरुङ, पर्वत ठानामौला स्थायी घर भई हाल फार्नबरोमा बस्दै आएका टेक बहादुर गुरुङ, पर्वत चित्रे मूल घर भई हाल अल्डरसट बस्ने धनबहादुर गुरुङ, कास्की धम्पुस पुर्ख्यौली घर भई हाल फार्नबोरो बस्ने सहारा यूके अध्यक्ष कुमार गुरुङ र पोखरा महानगरपालिका २२ भुम्दी घर भई हाल प्लमस्टिड बस्ने योगेश गुरुङ सम्मानित भएका छन्  ।

उनीहरुलाई नियोग उपप्रमुख खनाल, आमा समूहकी अध्यक्ष सीता (मन्जु) गुरुङले पुष्पगुच्छा, खादा तथा प्रसंशा पत्र प्रदान गरेका थिए । कार्यक्रममा तमुधिँ यूकेको स्थापना कालदेखि अहिलेसम्मका गतिविधि समेटिएको वृतचित्र पनि देखाइएको थियो ।

यसैगरी यस वर्ष तमुधिँ यूकेको आजिवन सदस्यहरुलाई तमुधिँ यूकेको लोगो अंकित ब्याच, आजिवन सदस्यता प्रमाण पत्र, खादा र पुष्पगुच्छा पनि प्रदान गरिएको थियो । कार्यक्रममा आमा समूहबाट राफल ड्र संचालन गरी १ हजार ५९२ पाउण्ड संकलन गरिएको थियो ।

राफल ड्रको पहिलो पुरस्कार न्यू लक्ष्मी ज्वेलेर्सले प्रायोजन गरेको एक तोला सुन आमा समूहकी उपाध्यक्ष सन्ध्या गुरुङले हात पारिन् । आमा समूहले नै नगद तथा १० भन्दा बढी पुरस्कार प्रायोजन गरेको थियो ।

आमा समूहबाट सिरुबारी दरौ थाप्ले भ्यू टावरका लागि १ हजार १ पाउण्ड सहयोग गरिएको थियो । कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेबाट दुई सय पाउण्ड र बुद्धिष्ट गुम्बा रेडिङबाट ५०१ पाउण्ड तमुधिँ यूकेलाई सहयोग हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा आमा समूहकी सक्रिय सदस्य लिडिया गुरुङ र तमुधिँ यूकेका आजीवन सदस्य लालकाजी गुरुङको २५ औं वैवाहिक वार्षिकोत्सवको उपलक्ष्यमा दुई सय पाउण्ड सहयोग गरेका थिए भने तमुधिँ यूकेका सल्लाहकार नन्दकुमारी गुरुङको कविता र घाचोक गाऊँको म्युजिक भिडियो विमोचन गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष हितकाजी गुरुङले प्रमुख अतिथि नेपाली दूतावास उपनियोग प्रमुख रोशन खनाललाई धन्यवाद दिँदै तमुधिँ यूकेका सदस्यहरुलाई पनि उपस्थितिका लागि आभार व्यक्त गरे । अध्यक्षले आदर्श तमु अवार्ड पाउनेहरुलाई बधाई तथा शुभकामना दिँदै कोभिडका कारण मृत्यु भएकालाई  संस्था र व्यक्तिगत तर्फबाट शोक व्यक्त गरे ।

रात्रिभोजमा ४० बढी संस्थाले आ-आफ्नो टेबल बुक गरेका थिए । कार्यक्रममा तमुधिँ यूकेका संस्थापकहरु र हालको कार्यसमितिबीच परिचय कार्यक्रम गरिएको थियो  । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत भाषण गरेका थिए भने कार्यक्रम संयोजक तथा उपाध्यक्ष तुलाराम गुरुङले धन्यवाद ज्ञापन गरे ।

महासचिव परशुराम गुरुङले शुरुको सत्र संचालन गरेका थिए भने दोस्रो सत्रमा कलाकारहरु रशना गुरुङ, सपन राई, शर्मिला बर्देवाले गीत र रत्न गुरुङले नृत्य गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू