शनिबार, वैशाख ८, २०८१
13:39 | १८:२४

राजदूत रेग्मी स्वदेश फिर्ता, राजदूतबिहीन लन्डन दूतावास

नेपाली लिङ्क अक्टोबर २४, २०२१

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल प्रस्थान गरेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज अपरान्ह ५:४० को टर्किस एयरलाइन्सबाट रेग्मी सपरिवार नेपाल फर्किएका हुन् ।

लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै भोलि सोमबार स्थानीय समयअनुसार ११:३० मा काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नेछन् । राजदूतलाई बिदाइ गर्न दुताबासका नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

बेलायतका लागि एक्काइसौँ राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएका हुन् ।

संयुक्त अधिराज्य बेलायतका लागि नेपाली आवासीय राजदूत रेग्मीले आयरल्याण्ड र माल्टाका लागि समेत  गैरआवासीय राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

राजदूत रेग्मीलाई शनिबार एक कार्यक्रम आयोजना गरि नेपाली दूतावास लन्डनका तर्फबाट बिदाइ गरिएको थियो ।

रेग्मीलाई बेलायती महारानी एलिजावेथ द्वितीयाका तर्फबाट पनि शुक्रबार बिदाई गरिएको थियो । महारानीको प्रतिनिधिका रुपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन दूतावास आएर राजदूत रेग्मीको बिदाइ गरेका थिए ।

त्यसअवसरमा उनले महारानीले  हस्ताक्षर गरी पठाएको उनको तस्विर समेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाले पनि रेग्मीलाई  बिदाइ कार्यक्रमको आयोजना गर्दै आएका थिए ।

बेलायत बसेको छोटो अवधिमा पनि उनले बेलायातको  नेपाली समुदायमा पनि सकारात्मक छाप छोड्न सफल भएका छन् ।

विशेषगरि लामो समयदेखि टुंगोमा पुग्न नसकेको समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरुको आन्दोलनलाई वार्ताको टेबलमा पुर्याउन रेग्मीले महत्वपूर्ण योगदान गरे ।

दुवै देशको हित हुने गरी भूपू गोर्खाका आधारभूत मागहरू पेन्सन, क्षतिपूर्ति, कल्याणकारी,स्वास्थ्य लगायतका विषयमा बेलायत सरकार सकारात्मक रहेकोले यसपटक हुन् गइरहेको वार्ता सफल हुनेमा रेग्मी विश्वस्त छन् । बेलायतको छोटो बसाइ आफ्नो लागि अमूल्य र अविस्मरणीय रहेको उनले बताए ।

राजदूत नेपाल फर्किएसंगै नेपाली दूतावास लन्डन राजदूतबिहीन बनेको छ । तर, अन्य व्यवस्था नभएसम्म कार्यबाहक राजदूतको रुपमा दूतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनालले कार्यबाहक राजदूतको जिम्मेवारी सम्हालेकी छन् ।

राजदूत नेपाल प्रस्थान गरेपछि दूतावासको फेसबुक पेजमा कार्यबाहक राजदूत खनालले भनेकी छन्, ‘उहाँको  सुखद यात्राको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौं। हामी उहाँ र उहाँको धर्मपत्नी श्रीमती चन्द्रकला रेग्मीज्यूको सुख, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।’

नेपाल सरकारको पूर्वमुख्यसचिव रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

रेग्मीले गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयका सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू