शनिबार, वैशाख ८, २०८१
07:22 | १२:०७

बिसीसी यूकेद्वारा राजदूत रेग्मीको बिदाइ

नेपाली लिङ्क अक्टोबर १८, २०२१


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको बिदाइ गरेको छ ।

यसै साताको अन्त्यतिर नेपाल फर्किने तयारीमा रहेका राजदूत रेग्मीलाई आइतबार अल्डरसटस्थित बिसीसी यूकेको गुम्बामा एक कार्यक्रम गरी बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रमअघि राजदूत रेग्मीले गुम्बाका लामा गुरु खेन्पो खुन्ख्यापबाट एक घण्टा लामो बुद्ध प्रवचन सुनेका थिए ।

बिसीसी यूकेका तर्फबाट अध्यक्ष धर्म तामाङले मायाको चिनो प्रदान गर्दै राजदूत रेग्मीको बिदाइ गरेका थिए । साथै, आमा समूहकी अध्यक्ष इन्द्रा गुरुङले राजदूतपत्नीलाई पुष्पागुच्छा प्रदान गरेकी थिइन् ।

बिदाइ कार्यक्रममा राजदूत रेग्मीले बेलायतको छोटो बसाइ आफ्नो लागि सुखद र अविस्मरणीय रहेको बताएका थिए । सरकारको निर्णयका कारण कार्यकालको बीचमै नेपाल फर्किंदै गरेको प्रसंगमा उनले ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भनेका थिए ।

बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले पूर्व गोर्खाको समस्या समाधान लगायतका मुद्धामा सकारात्मक दिशातर्फ अगुवाइ गरिरहेका राजदूत रेग्मीलाई फिर्ता बोलाउने सरकारको निर्णयबाट आफूहरु निराश बनेको बताए । बेलायतको राजदूतका रुपमा रेग्मीले पुर्याएको योगदानको लागि धन्यवाद दिंदै उनले सुखद र उज्ज्वल भविष्यको कामना पनि गरे ।

कार्यक्रममा दूतावास नियोग उपप्रमुख रोशन खनालसहितका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

बिसीसी यूकेका महासचिव क्याप्टेन देव घलेले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष काजी शेर्पा, आमा समूहकी पूर्व अध्यक्ष ज्ञानुमाया गुरुङ, सल्लाहकारहरु खुशीमान गुरुङ र डा कपिल रिजालसहित कार्यसमितिका सदस्यहरु पनि सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू