शुक्रबार, वैशाख ७, २०८१
16:37 | २१:२२

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ५ मा साउथ इष्ट लन्डनमा

नेपाली लिङ्क अक्टोबर १७, २०२१

लन्डन । विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले वर्षेनी बेलायतमा गर्दै आएको च्यारिटी कार्यक्रम आउँदो डिसेम्बर ५ तारिख आइतबार हुने भएको छ ।

कोभिड महामारीका कारण गत वर्ष भर्चुअल रुपमा गरिएको कार्यक्रम यस वर्ष भने भौतिक उपस्थितिमै गरिने भएको हो ।

आइतबार ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा बसेको समाजको कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले साउथ इष्ट लन्डनको चार्ल्टनस्थित ‘लेडी अफ ग्रेस’ हलमा कार्यक्रम गर्ने निर्णय गरेको छ । 

च्यारिटी कार्यक्रमबाट संकलित कोषबाट विगतमा जस्तै केही रकम तम्घासस्थित आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ भने बांकी रकम समाजका अन्य परोपकारी कार्यमा लगाइनेछ ।

च्यारिटी कार्यक्रमको आयोजनाका लागि समाजका महासचिव वीर बलाललाई संयोजक तोकिएको छ भने कार्यसमिति सदस्य महलाल घिमिरे र राधा खरेल सहसंयोजक बनाइएको छ ।  


कार्यक्रमका लागि आर्थिक व्यवस्थापन जिम्मा सहकोषाध्यक्ष तारा भट्टराईलाई दिइएको छ । खाना तथा ड्रिंक व्यवस्थापन भने समाजका सल्लाहकार रोमनाथ पाण्डेलाई जिम्मा दिने निर्णय बैठकले गरेको छ ।  

कार्यक्रममा प्रथम गुल्मेली नौमती बाजाको विशेष प्रस्तुतिका साथै विभिन्न स्थानीय  कलाकारले गीत, नृत्य सहितका मनोरञ्जनात्मक प्रस्तुतिहरु गर्नेछन् । कलाकारहरु व्यवस्थापनको जिम्मा समाजकी सांस्कृतिक सचिव माया केसीलाई लगाउने निर्णय पनि बैठकले गरेको छ । 

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको बैठक महासचिव वीर बलालले सञ्चालन गरेका थिए । बैठकमा कार्यसमितिका सह-कोषाध्यक्ष तारा भट्टराई, सदस्यहरु महलाल घिमिरे, माया केसी, राधा खरेल, थमन राना, भक्त बलाल, सल्लाहकारहरु रोमनाथ पाण्डे, ध्रुवराज अर्याल, यज्ञ खरेल लगायतको पनि उपस्थिति थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू