शनिबार, वैशाख ८, २०८१
15:11 | १९:५६

स्वीन्डनका नेपालीको कम्युनिटी सरसफाइमा बेलायती सांसदको साथ

नेपाली लिङ्क अक्टोबर १६, २०२१


लन्डन । बेलायतको स्वीन्डन आसपासमा बस्ने नेपालीहरुले आफ्नो स्थानीय क्षेत्रको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएका छन् ।  

नेप्लिज एशोसिएसन अफ वील्शायरको संयोजनमा शुरु गरिएको सरसफाइको पाँचौं कार्यक्रमअन्तर्गत शनिबार उनीहरुले वेष्ट स्वीन्डनमा सरसफाइ गरेका छन् । 

स्थानीय पार्क, सडकपेटी र रेसिडेन्सियल एरिया लगायतको सफाइ गरिएको एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए । सरसफाइमा झन्डै डेढ दर्जनको संख्यामा एशोसिएसनका पदाधिकारी र स्थानीय नेपालीहरु सहभागी भएका थिए ।  

अध्यक्ष गुरुङका अनुसार नेपाली समुदायका तर्फबाट सञ्चालन गरिएको सरसफाइ कार्यक्रमलाई प्रोत्साहन गर्न उक्त क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद रोबर्ट बकल्यान्ड समेत सहभागी भए ।

बेलायत सरकारका निवर्तमान न्यायमन्त्री समेत रहेका सांसद  बकल्यान्डले स्थानीय समुदायको हितको लागि नेपाली समुदायबाट भएको पहलको प्रशंसा गरेका थिए ।

‘बेलायत सरकारका निवर्तमान मन्त्रीसम्म रहेका सांसद आएर हाम्रो सरसफाइ कार्यक्रममा साथ दिँदा हामी निकै खुशी छौं । आफू बसेको समुदायको लागि केही गरौं भन्ने हाम्रो भावनामा उहाँले हौसला बढाइदिनुभएको छ’, अध्यक्ष गुरुङले भने ।  

त्यसअवसरमा स्थानीय पेरिस काउन्सिलका उपप्रमुख सुरेश गट्टापुर र काउन्सिलर नन्दनी सिंह पनि सरसफाइमा सहभागी भएका थिए । नेपाली समुदायका तर्फबाट एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङ, महासचिव भवानी गरुङ, दिवाली रेस्टुरेण्टका डाइरेक्टर दिपेन्द्र गुरुङ लगायतको सहभागिता थियो । 

कार्यक्रममा सहभागीहरुका लागि स्थानीय दिवाली रेस्टुरेण्टले चियापान प्रायोजन गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू