शुक्रबार, वैशाख ७, २०८१
06:56 | ११:४१

बेलायतमा संक्रमित संख्या एकसातामा २४ प्रतिशतले बढ्यो

नेपाली लिङ्क अक्टोबर १६, २०२१

फोटो डेली मिरर

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या एक सातामा २४ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ । इंग्ल्याण्डमा हरेक ६ मध्ये एकजना संक्रमित रहेको अघिल्लो साताको तथ्यांकले देखाएको छ । यसैगरी वेल्समा ४५ जनामा एकजना, स्कटल्याण्डमा ८० जनामा एक र नर्दर्न आएरल्याण्डमा १२० जनामा एकजना संक्रमित हुने गरेको राष्ट्रिय तथ्यांकले उल्लेख गरेको छ  ।

विगत केहि दिनयता दैनिक संक्रमितको संख्या ४० हजार भन्दा माथि छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४३ हजार ४२३ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बिहिबार ४५ हजार भन्दा बढी संक्रमित थिए भने हिजो शुक्रबार ४४ हजार ९३२ जना संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ८४ लाख ४ हजार ४६९ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४८ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८३३ जना संक्रमितको ज्यान गएको छ । यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ५२७ पुगेको छ ।

गएको एकसातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ६.९ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९१५ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ८६ छ । यस्तै ७८३ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ९९ हजार ९९४ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ७४ हजार ५०५ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो र ४ करोड ५३ लाख २५ हजार ४८९ जना अर्थात ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू