शनिबार, वैशाख ८, २०८१
10:10 | १४:५५

लन्डन पशुपतिनाथ मन्दिरमा नवदुर्गा पूजा, सप्तमीमा फूलपाती भित्र्याइयो

नेपाली लिङ्क अक्टोबर १३, २०२१


लन्डन । साउथ इष्ट लन्डनको पशुपतिनाथ मन्दिरमा यतिबेला दिनहुँ नवदुर्गा भवानीको पूजा अराधना भइहेको छ । घटस्थापनाको दिन शुरु भएको नवदुर्गा पूजासंगै हरेक दिन चण्डी पाठ लगायतका गतिविधि निरन्तर राखिएको छ ।

मन्दिरका पण्डित आनन्द लोहनीलाई कर्ता बनाएर दैनिक नवदुर्गा पूजा सञ्चालन गरिएको मन्दिरका मूल पण्डित ज्योतिषी निलहरि घिमिरेले बताए ।

यसैक्रममा सप्तमीको अवसरमा मन्दिरमा फूलपाती भित्र्याइएको छ । मंगलबार साँझ पञ्चकन्यालाई अगाडि लगाएर विधिपूर्वक फूलपाती भित्र्याउने कार्य गरिएको पण्डित घिमिरेले जनाए । उक्त अवसरमा बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीको दम्पति र दूतावासकै नियोग उपप्रमुख रोशन खनाल पनि सहभागी भएका थिए ।

बुधबार महाअष्टमीका दिन बिहानै मन्दिरमा अष्टमीको पूजा गरिएको छ । अष्टमीकै दिन साँझ कालरात्री पूजा र हवनको कार्यक्रम छ ।

बिहीबार महानवमीको दिन कुमारी पूजा र नवकन्या पूजा गरिनेछ । बेलुका विधिपूर्वक नौं कन्याको पूजा गरेसंगै नवदुर्गाको पूजा समापन हुनेछ ।

विजया दशमीको दिन बिहान साढे ७ बजेदेखि नै मन्दिरमा टीकाजमरा वितरणको कार्यक्रम छ । उपस्थित भक्तजनहरुलाई पण्डितहरु निलहरि घिमिरे, आननद लोहनी र विनोद पन्थीले टिका वितरण गर्नेछन् ।

साथै, घरमै आफन्तहरुसंग टीका लगाउनेहरुलाई पनि मन्दिरमा जमरा उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू