शुक्रबार, वैशाख १४, २०८१
16:54 | २१:३९

बेलायतका युवाहरुले खोजे मगर जातीको इतिवृत्तान्त

गोमा राना अक्टोबर १२, २०२१

लन्डन । मगर संघ यूकेको युवा समितिले नेपाल अधिराज्यभर बसोबास गरेका मगरहरुको चिनारी, महत्व, मगर भेषभूषा, संस्कार संस्कृति, रहनसहन आदि विषयमा जानकारी दिन पहिलो पटक कार्यक्रम गरेको छ ।

अक्टोबर १० तारिख आइतबार मगर संघ यूकेका अध्यक्ष सुनिल रानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भर्चुअल माध्यमबाट प्रमुख अतिथि नेपालबाट प्रोफेसर केशर जंग बराल र विशेष अतिथि झकेन्द्र घर्ती मगरको उपस्थिति थियो ।

अध्यक्ष सुनिल राना, युवा समितिका अध्यक्ष किशोर राना, जेष्ठ नागरिक मगर संघ यूकेका सल्लाहकार वीर बहादुर गाहा र यूएचएसबी शाखा अध्यक्ष श्रीमति हेमा रानाले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ भएको थियो ।

संस्थाका महासचिव रुद्र थापाले सञ्चालन गरेको प्रारम्भिक चरणमा युवा समितिकी उपाध्यक्ष यमुना रानाले स्वागत मन्तब्य दिइन् । दोस्रो चरणको कार्यक्रम युवाद्वय दीपक थापा मैथाने र जानुकी रोकाले सञ्चालन गरेका थिए ।

प्रोफेसर केशर जंग बरालले दर्शनको आधारमा मगरको विश्वास प्रणाली र यसको पहिचानबारे मन्तव्य दिएका थिए ।

उनले प्रकृति सुरक्षित रहेमा सबै सुरक्षित रहन्छौं भन्दै प्रकृति संरक्षण गर्न जोड दिए । मगर प्रकृति पुजक हो भन्दै उनले बौद्ध दर्शनमा पनि विश्वासको कुरा 
राखेका थिए ।

लेक्चरर झकेन्द्र घर्ती मगरले आफ्नो पावर पोइन्टमार्फत ‘मगर सोसाइटीः आवर स्टेटस एण्ड आवर ड्रिम’ बारे प्रस्तुति दिए । उनले मगर समाज वर्तमान अवस्थामा कहां छ र भविष्यमा कस्तो हुनुपर्छ ? कसरी समृद्ध समाजको सपना पुरा हुन सक्छ भन्ने विषयमा आधिकारिक तथ्यांकसहित प्रकाश पारे । उनले मगरात क्षेत्रको बाहुल्य, जनसंख्या, धर्म, राजनीति, ब्यवसाय, रहनसहन आदिको विस्तृत रुपमा वर्णन गरेका थिए ।

दोस्रो चरणमा युवाहरुको बेजोड प्रस्तुति थियो । मगर संघ यूकेको यूएचएसबी शाखाका किशोर किशोरीले मगर भेषभूषा, पहिरनको उत्पत्ति देखि आधुनिक युगसम्म के कसरी यसको विकास भयो भन्नेबारे राम्रो चर्चा गरे । पुरुष र महिलाको पहिरन, नेपालको कुन भेगमा बस्ने मगरको कस्तो पहिरन हुन्छ र उनीहरुको शिर देखि पाउ सम्मको गरगहना आदि विषयमा रोचक तरिकाले अत्यन्तै अनुसन्धानमुलक सामग्री प्रस्तुत गरेका थिए ।

केन्टस्थित टन्ब्रीजका युवा विशाल रानाले सिमारेखा चलचित्र माध्यमबाट मगर चलचित्रको स्थिति, सिनेमाले कसरी भेषभूषालाई जगेर्ना गर्छ र चिनारी दिन्छ जस्ता विषयमा आफ्नो धारणा राखेका थिए ।

वेम्ब्ली शाखाको मिफुरुङ समूहले मगरहरुको तीन वटा भाषा, मगर चाडपर्व, खानपान, रितिरिवाज, धर्म, संस्कार संस्कृति जन्म न्वारन देखि मृत्यु पर्यन्त दाहसंस्कार, भुमे पुजा, बुद्ध पूर्णिमा माघे संक्रान्ति, मगर स्थापना दिवस र प्रथम शहीद लखन थापाको बारेमा मगर धुटमा प्रस्तुत गर्दा सांच्चिकै रोचक बनेको थियो ।

केन्ट शाखाले सारङ्ग्या नाचको परिचय सामग्री प्रस्तुत गरेको थियो । रिडी गण्डकी नदी पश्चिम १८ वटा र पूर्व १२ वटा प्राचीन मगर राज्यहरुको आधारमा १८ र १२ मगरातबाट चिनिन्छ । १८ मगरातमा पुरुष समूह नाचलाई नचारु भनिन्छ र त्यही नचारु अन्तर्गत एउटा प्रमुख नाचलाई सारङ्ग्या नाच भनिन्छ ।

 

अर्का युवा विष्णु बुढा मगरले झांक्री के हो र बुढा मगर जातिमा यसको प्रभाव कस्तो छ ? उनले परिवारको एकजना सदस्य झांक्री नभएमा जरीवाना तिर्नु पर्ने एक प्रकारको अनौठो विषयको जानकारी दिए । उनले अहिले यो प्रथा लोप हुंदै गएकामा दुःख पनि प्रकट गरे ।

विश्व नेपाली साहित्य महासंघ यूके दक्षिण शाखाका अध्यक्ष विजय हितान, रेडिङ शाखाका अध्यक्ष शोभ रेगामी र वेष्ट लन्डन शाखाका अध्यक्ष टेक रानाले कुन शाखाले कस्तो प्रस्तुति गरयो र कति अनुसन्धानमुलक थियो भन्ने आधारमा उत्कृष्ट घोषणा गरेका थिए ।

तीन निर्णायकले न्यायपूर्ण र निष्पक्ष तरिकाले मुल्यांकन गरि वेस्ट रिसर्चको आधारमा वेम्ब्ली शाखाका मिफुरुङ (करिस्मा थापा, सन्दिप राना, समिक्षा राना, संगीता थापा र दिपक मैथाने) यूएचएसबी शाखाका युवाहरु (आरती थापा, प्रिया पुन, वर्षा थापा, रेइसा राना, अमित बुरा, रेमन राना, रस्मिता थापा र अनिल थापा), सारङ्ग्या नाच (ब्राइन बुढा, ब्रायन बुढा, प्रत्युस रोका र जुङ्सन रोका मगर), टन्ब्रीजका विशाल राना, नुतन श्रीस, विकास राना र रुबिना थापा श्रीस) प्रतियोगीहरुलाई हौसला सहित नगद, खादा र प्रमाणपत्र प्रदान गरिएको थियो ।

युवा समितिका अध्यक्ष किशोर रानाले यो वर्ष विभिन्न विद्यामा पुरस्कृत निशु राना (बक्सिङ च्याम्पियन) गोर्खा कप विजेता– जतिन राना, सुमन राना र अल्विन भुजेल, क्रिशा थापा (जुनियर गल्फ च्याम्पियन) लाई र संस्थाका अध्यक्ष सुनिल रानालाई कार्यक्रमको कन्सेप्ट ल्याएकामा धन्यवाद दिएका थिए ।

संस्थाका अध्यक्षले कार्यक्रम अत्यन्तै जानकारीमूलक, ज्ञानवर्धक र प्रोत्साहन हुने खालको रहेको भन्दै सपबल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू