बिहीबार, वैशाख २७, २०८१
09:42 | १४:२७

लन्डनमा सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

नेपाली लिङ्क अक्टोबर १०, २०२१

खेमराज रानाभाट, लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेले दशैँ-तिहारसहितका पर्वहरुको अवसरमा एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  

शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो ।  

सोसाइटीका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष पराजुली र लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख एवम्  प्रवक्ता रोशन खनालले दीप बालेर शुभारम्भ गरेका थिए । 

कार्यक्रममा मन्तव्य दिंदै दूतावासकी नियोग उपप्रमुख खनालले विजयादशमी, दिपावली एवं छठ लगायतका सबै पर्वहरुको शुभकामना दिइन् । सोसाइटीले आफ्नो नाम जस्तै विशेष कार्यक्रमहरु ल्याएर बेलायतको नेपाली समाज एवं नेपालमा समेत एक नमुना संस्थाको रुपमा परिचित रहने गरि कार्य गर्न उनले सुझाव दिइन् ।  

सोसाइटी अध्यक्ष पराजुलीले दशैं तिहारको शुभकामना दिदै समाजको स्थापनादेखि हालसम्म गरेका कामहरुको संक्षिप्त स्मरण गराएका थिए । बेलायतमा हुर्किदै गरेका दोस्रो-तेस्रो पुस्ताका नेपाली युवाहरुलाई बेलायती नेपाली समाज र नेपाल राष्ट्रसँग जोड्ने कार्यक्रमहरु संस्थाले गर्न गइरहेको भन्दै उनले यस कार्यका लागि नेपाली दूतावासबाट पनि सहयोग तथा समन्वयको आशा व्यक्त गरे ।  


सोसाइटीका उपाध्यक्ष याम रायले स्वागत मन्तव्य राख्दै संस्थाका तर्फबाट सबैलाई दशैं र दिपावलीको शुभकामना दिएका थिए ।

सोसाइटीका कोषाध्यक्ष गोविन्द महतले कोभिड- १९ का कारण विगतमा किशोर-किशोरीले  युनिभर्सिटी ग्राजुएशन सकेपछि गरिदै आएको अभिनन्दन कार्यक्रम, बालबालिकालाई नेपाली भाषा, संस्कृतिसहित  नेपालको विविध पक्षको जानकारी गराउन आयोजना गर्दै आएका विविध कार्यक्रमहरु गर्न नसके पनि आउँदा दिनमा यस्ता कार्यक्रमहरु नियमित रुपमा गरिने जानकारी गराएका थिए । 


सामाजिक अभियन्ता तथा चार्टर अकाउण्टेण्ट एलएन पाण्डेले दशैंको शुभकामना दिंदै संस्थालाई समाजका लागि टुकी बनेर सबैलाई मार्ग निर्देशन गर्न सुझाव दिएका थिए । 

सामाजिक व्यक्तित्व एवं चर्चित गायक दिपक थापाले प्रस्तुत गरेका माहोल तताउने गीतहरु र डिजे हेम विष्टको संगीत संयोजनमा कार्यक्रममा सहभागी सबैले भरपुर मनोरञ्जन लिएका थिए । 

सोसाइटीका महासचिव दिलिप पौडेलले संचालन गरेको कार्यक्रममा संस्थापक सल्लाहकार अर्कराज तिम्सिना, सल्लाहकार जीत रानाभाट, पत्रकार महासंघ यूकेका सचिव खेमराज रानाभाट लगायतका व्यक्तित्त्वहरुले शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू