सोमबार, जेठ ७, २०८१
20:19 | ०१:०४

बेलायतमा संक्रमण दर बढेपनि मृतक संख्यामा ह्रास

मृतक संख्या एकसातामा २५ प्रतिशत कम

नेपाली लिङ्क अक्टोबर ३, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण दर उच्च रहेपनि मृतक संख्यामा भने ह्रास आएको अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्या २५ प्रतिशतले घटेको हो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ९५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ३० हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा १४ दिनसम्म लगातार दैनिक संक्रमण संख्या ३० हजार भन्दा माथि रहँदै आएको छ । गतहप्ताको तुलनामा संक्रमित संख्या पनि करिब ६.१ प्रतिशतले घटेको बताइएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ७९ लाख नाघेको छ ।

गएको एकसातामा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या १०.३ प्रतिशतले घटेको छ । पछिल्लो २४ घन्टामा ७५५ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या घटेर ५ हजार ६४ मा झरेको छ । यस्तै ८१५ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ३८ लाख ९८ हजार ३४८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ८९ लाख २८ हजार ९५२ जनाले खोपको पहिलो डोज र ४ करोड ४९ लाख ६९  हजार ३९६ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू