शुक्रबार, चैत १६, २०८०
12:02 | १७:४७

एकेन्द्र गुरुङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ विमोचन

नेपाली लिङ्क अक्टोबर २, २०२१

संग्रह विमोचन गर्दै वरिष्ठ साहित्यकार सरुभक्त, संग्रहका सम्पादक एकेन्द्र गुरुङ र वरिष्ठ गीतकार दिनेश अधिकारी ।

लन्डन । बेलायतमा बस्दै आएका सर्जक एवम् बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ संग्रह विमोचन भएको छ । प्रकाशक तमु साहित्यिक मञ्च नेपालको आयोजनामा शनिबार एक भर्चुअल कार्यक्रममार्फत् संग्रह विमोचन गरिएको हो ।  

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त, वरिष्ठ गीतकार दिनेश अधिकारी, संग्रहका सम्पादक एकेन्द्र गुरुङ र प्रकाशक तमु साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले संयुक्त रुपमा संग्रह विमोचन गरेका हुन् ।  

संग्रहको समिक्षा गर्दै वरिष्ठ गीतकार दिनेश अधिकारीले ‘बेलायतमा नेपाली गीत’ मा आफूले बेलायतवासी नेपालीहरुको भावनाको प्रतिविम्ब पाएको बताए । प्रवासमा बस्नेहरुको नेपालप्रेम, गाउँले जीवन र नेपाली परम्परा एवम् संस्कृतिप्रतिको लगाव र लाहुरे गाथादेखि प्रेम र जीवनका रंगहरु संग्रहमा समेटिएको उनले सुनाए ।  

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले ‘बेलायतमा नेपाली गीत’ संग्रहमा बेलायतमा मात्र नभइ सिंगो डायस्पोरामा रहेका नेपालीहरुको प्रतिनिधित्व भएको विचार व्यक्त गरे । सबै स्रष्टाका सिर्जना एकै पुस्तकमा एकत्रित गर्ने सम्पादक गुरुङको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।  

संग्रहका सम्पादक सर्जक एकेन्द्र गुरुङले बेलायतमा रहेका गीतकारहरुको सिर्जनालाई एउटै  मालामा उन्ने आफ्नो प्रयत्न रहेको बताए । उनले संग्रह प्रकाशनदेखि विमोचन समारोहसम्म आइपुग्दा आफूलाई प्रोत्साहन र सहयोग गर्ने सबैप्रति  आभार प्रकट गरे ।  

संग्रहमा बेलायतवासी ८० स्रष्टाका दुई-दुई वटा गीतहरु संग्रहित रहेको सम्पादक गुरुङले जानकारी दिए । स्रष्टाहरुमध्ये २१ जना नारी छन् । प्रत्येक स्रष्टाको फोटोसहित संक्षिप्त परिचय समेत संग्रहमा समावेश छ ।

तमु साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न संग्रहको विमोचन समारोहमा सञ्चालन मञ्चकै महासचिव रोशनी गुरुङले गरेकी थिइन् भने उपाध्यक्ष रोशन गुरुङले सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए । 

कार्यक्रममा बेलायत तथा नेपालस्थित विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सर्जक र अन्य सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

तस्विर सौजन्य- मिलन तमु 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू