सोमबार, जेठ ७, २०८१
22:35 | ०३:२०

नेपाललाई ‘रेड लिष्ट’ बाट हटाउन बेलायती स्वास्थ्यमन्त्रीसमक्ष माग

नेपाली लिङ्क अक्टोबर २, २०२१

लन्डन । बेलायत सरकारको यात्रा सम्बन्धि नियमका कारण नेपालीलाई आवतजावतमा कठिनाइ भएको भन्दै त्यसलाई पुनर्विचार गर्न माग बढेको छ ।

बेलायतले नेपाललाई ‘रेड लिष्ट’ मा राखिरहंदा हिन्दुहरुको महान चाड दशैं तिहार मनाउन समेत नेपाली वञ्चित भएको भन्दै लन्डनस्थित व्यवसायी रविजंग लामिछानेले बेलायती स्वास्थ्यमन्त्रीसमक्ष माग गरेका छन् ।

बिहीबार आयोजित एउटा ‘हाइ प्रोफाइल डिनर’ मा व्यवसायी लामिछानेले बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदसंग नेपालको रेड लिष्ट हटाउन आग्रह गरे ।

‘सम्माननीय मन्त्रीज्यू, सरकारको रेड लिष्टका कारण बेलायतबाट नेपाल जान आउन ज्यादै कठिन भएको अवस्था छ । नेपालमा अहिले कोरोना संक्रमित पनि घटेका र खोप वितरण पनि तीव्र भइरहेको अवस्थामा यसलाई पुनर्विचार गरिदिन मेरो आग्रह छ’, मन्त्रीलाई लामिछानेले भनेका थिए ।

दक्षिण एसियामा नेपाललाई मात्र रेड लिष्टमा राखिनु न्यायोचित नभएको भन्दै लामिछानेले यसलाई गम्भीर रुपमा लिइदिन पनि स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

प्रत्युत्तरमा मन्त्री साबिद जाविदले यसमा आफूहरु नजिकबाट काम गरिरहेको र यसबारे पुनर्विचार गरिने बताएको लामिछानेले जनाए ।

‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ ।

होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू