सोमबार, जेठ ७, २०८१
21:07 | ०१:५२

जलवायु परिवर्तन र नवीकरणीय उर्जा क्षेत्रमा लगानी सम्बन्धमा दूतावासमा छलफल

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२१


लण्डन । नेपाली राजदूतावास लण्डन, लगानी बोर्ड नेपाल, नेपालस्थित ब्रिटिश राजदूतावास र डेभलपिङ मार्केट एसोसिएटस् (डीएमए) ले संयुक्त रुपमा ‘यूके नेपाल इनर्जी ट्रान्जिसन् एन्ड काउन्टडाउन टु कोप २६’ विषयक लगानी सम्मेलन गरेका छन् । 

संयुक्त अधिराज्यको ग्लास्गोमा आगामी नोभेम्बर २०२१ मा हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २६) को सन्दर्भमा उक्त सम्मेलन भएको हो ।  

पेरिस क्लाइमेट एग्रीमेन्ट अन्तर्गत जलवायु परिवर्तनका सन्दर्भमा नेपालको प्रतिवद्धताको पुनर्पुष्टि एवं इनर्जी ट्रान्जिसनका लागि उपयुक्त परियोजनाहरुको सम्बन्धमा छलफल गरी विशेषत हरित एवं नवीकरणीय उर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहित गर्ने उद्देश्यले भर्चुअल तथा भौतिक माध्यमबाट उक्त कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।

सम्मेलनमा जलविद्युत एवं अन्य नवीकरणीय हरित उर्जासँग सम्वद्ध नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ता तथा उक्त क्षेत्रमा लगानी गरिरहेका नेपाली लगानीकर्ता एवं व्यवसायीहरुको संलग्नता थियो ।

उक्त सम्मेलनमा नेपालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय उर्जा क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउँदै जलविद्युत एवं अन्य नवीकरणीय उर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरे । 


लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्सका सांसद तथा यूके-नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष लर्ड शेख, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, लण्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमति रोशन खनाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायत नेपाली व्यवसायीले नेपालमा जलविद्युत, सौर्य उर्जा लगायत हरित एवं नवीकरणीय उर्जा क्षेत्रमा लगानीका सम्बन्धमा नेपाल सरकारको नीति, सम्भावना तथा चुनौतीहरुको विवेचना गर्दै नेपाल लगानीका लागि यथेष्ट सम्भावना रहेको देश रहेको जानकारी दिए ।

त्यसैगरी एसिया प्यासिफिक तथा साउथ एसियाका लागि कोप २६ क्षेत्रीय राजदूत केन ओ फ्लाहेर्ती, आइएफसीका क्षेत्रीय निर्देशक हेक्टर गोमेज एङ तथा बेलायती लगानीकर्ताका तर्फबाट डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी अधिकृत टिम गोचर लगायत जलविद्युत विज्ञहरुले समेत आफ्नो मन्तब्य राख्दै नेपालमा हरित एवं नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका लागि अथाह सम्भावना रहेको धारणा व्यक्त गरे । 

वक्ताहरुले हरित एवं नवीकरणीय उर्जाको विकासमार्फत नेपाल सन् २०५० भित्र ‘जिरो नेट कार्बन’ उत्सर्जन गर्ने लक्ष्यतर्फ अगाडि बढेको र जलवायु परिवर्तन सम्बन्धमा पेरिस सम्झौताको प्रतिवद्धता पुरा गर्न सकिने राय ब्यक्त गरेका थिए । 

कार्यक्रममा नेपाल तथा बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुबीच भर्चुअल माध्यमबाट परिचय तथा व्यवसाय सम्बन्धमा विभिन्न छलफल पनि भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू