आइतबार, जेठ ६, २०८१
19:11 | २३:५६

बेलायतमा एकसाताभित्र दुई लाख ४६ हजार बढी संक्रमित  

२४ घन्टामा ३६ हजार ७२२ नयाँ संक्रमित

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२१

लन्डन । बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च छ । यहाँ एकसाताभित्र दुई लाख ४६ हजार भन्दा बढी नयाँ  संक्रमित थपिएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।

अघिल्लो दिन पनि संक्रमित ३४ हजार भन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३ प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ९०४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ५२५ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ६० हजार नाघेको  छ  ।

गएको एकसातामा कोरोना संक्रमणका कारण पाँच हजार १७३ जना अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको संख्या भने अघिल्लो साताको तुलनामा १४.६ प्रतिशतले ह्रास आएको छ । पछिल्लो २४ घन्टामा ६५९ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ९७६ छ । यस्तै ८२६ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ३६ लाख ३० हजार ८५९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ८७ लाख ९७ हजार ५७९ जना अर्थात ८९.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ४८ लाख ३३ हजार २८० जना अर्थात ८२.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू