बिहीबार, वैशाख १३, २०८१
18:52 | २३:३७

बुद्ध फाउन्डेसनमा नयाँ नेतृत्व चुन्ने तयारी

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२१

लन्डन । बुद्ध फाउन्डेसन यूकेले आगामी नोभेम्बरमा नयाँ नेतृत्व चुन्ने भएको छ । फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको भर्चुअल बैठकले नोभेम्बर २८ तारिख अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्न सल्लाहकार शिवजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको छ । समितिमा ३ देखि ५ सदस्य मनोनयन गर्ने जिम्मा पनि संयोजक श्रेष्ठलाई लगाइएको छ ।

बैठकले संस्थाको विधानमा आवश्यक परिमार्जन र संशोधनका लागि प्रस्ताव तयार गर्न सल्लाहकार फडिन्द्र भट्टराईको संयोजकत्वमा उपाध्यक्ष सचिन श्रेष्ठ र महासचिव अर्जुन कटुवाल सदस्य रहेको विधान समिति गठन गरेको छ ।

अधिवेशनमा सन् २०२१ अक्टोबर मसान्तसम्मको संस्थाको हरहिसाबसम्बन्धि पूर्ण रिपोर्ट पेश गर्न कोषाध्यक्ष राजन खकुराललाई जिम्मा दिइएको छ ।

बैठकले फाउन्डेसनद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमलाई पूर्णता दिन आवश्यक स्रोत जुटाउने प्रयोजनमा सन् २०२२ मा बेलायतमा एक च्यारिटी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।।

बुद्धको जन्मस्थलसम्बन्धि भ्रमलाई चिर्न आवश्यक कार्यको निम्ति लन्डनस्थित नेपाली दूतावाससँग छलफल गरेर अघि बढ्ने निर्णय बैठकले गरेको छ । नेपाली पासपोर्ट, नेपाली रुपैंया तथा हुलाक टिकटमा बुद्धको तस्विर र जन्मस्थान सहित प्रकाशन गराउन माग गर्दै नेपाल सरकारलाई एक ज्ञापनपत्र पठाउने र लण्डनको नेपाली दूतावासमा बुद्धको जानकारीसहितको प्रचार सामग्री वितरण गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले संगम पुस्तकालय उदयपुरलाई प्रदेश एकको नमुना ईपुस्तकालय बनाउन आर्थिक सहयोग गर्ने र त्यसको संयोजन महासचिव अर्जुन कटुवालले गर्ने निर्णय गरेको छ ।

अध्यक्ष श्रेष्ठले अध्यक्षता गरेको बैठक महासचिव अर्जुन कटुवालले संचालन गरेका थिए । बैठकमा उपाध्यक्षद्धय सचिन श्रेष्ठ र एभरेष्ट गौतम, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुराल, सदस्यहरु जीवन सेन, निरञ्जन खड्काका साथै सल्लाहकारहरु कुमार श्रेष्ठ, शिवजी श्रेष्ठ र विनोद ज्ञवालीको पनि सहभागिता थियो ।

सन् २०१७ मा स्थापना भएको एक वर्षपछि अधिवेशन गरी बुद्ध फाउन्डेसनमा दीपक श्रेष्ठको अध्यक्षतामा पहिलो कार्यसमिति चुनिएको थियो । फाउन्डेसनले दूतावास, नेपाल पर्यटन बोर्ड  र बेलायतस्थित विभिन्न नेपाली संघसंस्था समेतको सहकार्यमा हरेक वर्ष लन्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम गर्दै आएको छ । फाउन्डेसनले सवा करोड लगानीमा कपिलवस्तुमा निर्माण गरिरहेको बुद्ध वृद्धाश्रमको आधाभन्दा बढी काम पूरा भइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू