शनिबार, वैशाख १५, २०८१
02:04 | ०६:४९

स्वीन्डनमा नेपाली दूतावासको घुम्ती सेवा

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२१


लन्डन– नेपाली दूतावास लन्डनले स्वीन्डनस्थित बकहर्स्ट कम्युनिटी सेन्टर (डोम हल) मा एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।

नेपाली एसोसिएसन वील्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भए ।

लन्डन जान आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीहरुको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एसोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्ड जस्ता सेवाहरु उपलब्ध गराइएको थियो ।

दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी श्रीमति पुजन पाण्डे र बिनोद कार्की उपस्थित भएर सेवा प्रदान गरेका थिए । बिहान ९ देखि सांझ ५ बजेसम्म सञ्चालन भएको उक्त घुम्ती सेवामा ४४ जनालाई सेवा प्रदान गरिएको गुरुङले जानकारी दिए । संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धाहरुलाई दुःख नहोस् भनेर आफैं दूतावास गएर संकलन गरिदिने पनि गुरुङले बताए ।

लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राही लगायत स्वीन्डनवासीहरु प्रफुल्ल देखिन्थे । उनीहरुले दूतावास लगायत संयोजनको भूमिका निर्वाह गरेकामा नेपाली एसोसिएसन वील्सायरलाई धन्यवाद दिएका छन् ।

नेपाली एसोसिएसन वील्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ । हालैमात्र संस्थाले स्वीन्डनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरि बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू