शनिबार, वैशाख ८, २०८१
02:29 | ०७:१४

आरजीएनएस सल्लाहकार र नयाँ पदाधिकारीलाई स्वागत-सम्मान

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२१


लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) ले आफ्ना सल्लाहकारहरु तथा कार्यसमितिका नवनियुक्त पदाधिकारीलाई स्वागत गरेको छ ।

आइतबार अपरान्ह प्लमस्टिड लाइब्रेरीमा स्थानीय ग्रीनवीच बरोका काउन्सिलरहरुको उपस्थितिमा संस्थाका सल्लाहकार, विषयगत विज्ञ समितिका सदस्य, विभागीय संयोजक तथा कार्यसमितिका विभिन्न पदमा मनोनित भएकाहरुलाई सम्मान एवम् स्वागत गरिएको हो ।

आरजीएनएस अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक परिषदमा मनोनित पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । परिषदमा संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ र निवर्तमान अध्यक्ष शर्मिला हिराचन थकाली छन् ।

आरजीएनएसले संस्थापक सल्लाहकारहरुलाई पनि सम्मान गरेको छ । संस्थापक सल्लाहकारहरुमा मोहन गुरुङ, एलएन पाण्डे, सहदेव गिरी, अर्कराज तिम्सिना र श्याम शेरचन छन् ।

कार्यक्रममा संस्थाको सल्लाहकारमा मनोनित सल्लाहकार दीपक श्रेष्ठ, विनोद ज्ञवाली, सुमलकुमार गुरुङ, फडिन्द्र भट्टराई, ह्यारी गुरुङ, जीवन सेन, ध्रुवराज अर्याल, लछुमन गुरुङ, लेखनाथ खरेल, सुरोज मास्के, आनन्द धरेल , विनोद चिपालु, माधवलाल श्रेष्ठ, सिम्मी पुन लगायत सम्मानित भए । त्यस्तै, विषयगत विज्ञ समितिमा मनोनित कर्ण शाही, लक्ष्मी राई लारा, मनिषकुमार श्रेष्ठ, प्रसिद्ध प्रधान र राजन खकुराललाई पनि सम्मान गरियो ।

विभिन्न विभागहरुमा मनोनित हुने युवा संयोजक अंकिता ढकाल, महिला संयोजक चन्दा थापामगर महिला र रिक्रियसन गतिविधि संयोजक अहिल्या कुंवरलाई पनि संस्थाले सम्मान गरेको छ ।

सम्मानित पदाधिकारी तथा सल्लाहकारहरुलाई संस्थाका अध्यक्ष जीत रानाभाट र विशेष अतिथिका रुपमा सहभागी स्थानीय काउन्सिलरहरुले प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस्तै, केहि महिनाअघि भर्चुअल अधिवेशनमार्फत् निर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समिति प्रमुख कर्ण शाही, सदस्यसचिव फडिन्द्र भट्टराई तथा सदस्यहरु सहदेव गिरी, श्याम शेरचन र राजन खकुरालबाट प्रमाणपत्र वितरण गरिएको थियो ।


आरजीएनएसले कोभिड महामारी सहयोग अभियानमा सहयोग पुर्याउने बेलायती सांसद अबेना ओपोंग असारे, ग्रीनवीचकी मेयर डेनिस हाइल्याण्ड तथा काउन्सिलरहरु, म्याट मरो, एभेरिल लिकाओ आन मेरी कोजिन एबिउड र एञ्जेला कन्फोर्थलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोहि अवसरमा निवर्तमान अध्यक्ष शर्मिला हिराचन थकालीलाई पनि संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमलाई इरिथ एण्ड थेम्समिड क्षेत्रको प्रतिनिधित्व गर्ने बेलायती सांसद अबेना ओपोंग असारेले शुभकामना सन्देश पठाएकी थिइन् भने अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ ग्रीनवीचकी मेयर डेनिस हाइल्याण्डले भिडियो सन्देशमार्फत सम्बोधन गरेकी थिइन् ।

त्यस्तै, कार्यक्रममा सहभागी काउन्सिलरहरुले आफ्नो संक्षिप्त मन्तव्य राख्दै स्थानीय नेपाली समुदायको लागि आरजीएनएसले गरिरहेका सहयोगमुलक कार्यहरुको प्रशंसा गरेका थिए । समुदायलाई आवश्यक पर्दा काउन्सिलका तर्फबाट सम्भव सबै सहयोगको प्रतिबद्धता समेत उनीहरुले जनाएका थिए ।

त्यसअवसरमा सल्लाहकारहरु अर्कराज तिम्सिना, कर्ण शाही, फडिन्द्र भट्टराई, विनोद ज्ञवाली, लक्ष्मी राई लारासहित नेपाल फोरमका संस्थापक अध्यक्ष डा रामकुमार अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका अध्यक्ष जीत रानाभाटले कार्यक्रममा सहभागी अतिथि एवम् सल्लाहकारहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले संस्थाका गतिविधिहरुमा सधैं सहयोगी भूमिका निभाउने स्थानीय काउन्सिल तथा काउन्सिलरहरुप्रति नेपाली समुदायको तर्फबाट आभार प्रकट गरे ।

आरजीएनएस महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पुण्य रेग्मीले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू