शुक्रबार, चैत १६, २०८०
22:12 | ०३:५७

धनकिरणको नयाँ गीतमा छोरा आशिकको डेब्यू

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२१

लन्डन । पछिल्लो समय संगीत कर्ममा सक्रिय बेलायतकै पहिलो नेपाली मुलका काउन्सिलर धनकिरण गुरुङ यतिबेला नयाँ गीतको तयारीमा जुटेका छन् । 

सेप्टेम्बर अन्तिम साता रिलिज गर्ने तयारी गरिएको गीत ‘किन हो किन’ को म्यूजिक भिडियोमार्फत् गायक-संगीतकार गुरुङले आफ्नै छोरा आशिक गुरुङलाई ‘डेब्यू’ समेत गराउने भएका छन् ।  

प्रभु गुरुङको निर्देशन रहेको भिडियोमा आशिकका साथमा  सुब्रिना लिम्बूको पनि अभिनय छ । बेलायतका विभिन्न मनोरम स्थानहरुमा छायांकन् पूरा गरी अहिले भिडियोको ‘पोस्ट प्रोडक्सन’ कार्य भइरहेको गायक गुरुङले बताएका छन् ।  

‘किन हो किन’ मा शब्द र संगीत पनि गायक गुरुङकै छ भने स्वरमा उनलाई गायिका दीपा लामा राईले पनि साथ दिएकी छन् ।   

म्यूजिक भिडियोमा कोरियोग्राफी पनि निर्देशक गुरुङले नै गरेका छन् भने क्यामेरा र सम्पादन सुमन श्रेष्ठको छ । भिडियो निर्मात्री अल्का गुरुङ हुन् । 

आफ्नै बाबुको म्यूजिक भिडियोमार्फत् अभिनयमा डेब्यू गर्न लागेका आशिक आफै पनि म्यूजिक कम्पोजर हुन् । बेलायतबाटै ग्राफिक डिजाइनिङ इन्जिनियरको अध्ययन पूरा गरेका उनले म्यूजिक टेक्नोलोजी र फोटोग्राफीमा पनि डिप्लोमा गरेका छन् ।  

बाबुसँगै मिलेर डिजी प्रोडक्सन चलाइरहेका आशिकले प्रोडक्सन स्पेसलिस्टका रुपमा म्यूजिक कम्पोजिङ, रेकर्डिङ, मिक्सिङ लगायतका कार्यमा दख्खल राख्छन् ।  

सन् २०१३ मा चर्चित रियालिटी शो ‘एक्स फ्याक्टर् यूके’ मा समेत सहभागी उनले ५ राउन्डसम्मको यात्रा तय गर्न सफल बनेको गायक गुरुङले बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू