शुक्रबार, चैत १६, २०८०
16:02 | २१:४७

मनाङमा अमिताभ बच्चन अभिनित ‘उचाई’ को छायांकन गरिने

रासस सेप्टेम्बर १५, २०२१

मनाङ–कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायांकन हुुने भएको छ ।

बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘उचाई’ को छायांकन गरिने भएको हो ।

चलचित्र छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आएका छन् । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।

सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली आज काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मसका अध्यक्ष लाइन प्रोड्युसर सुरज आचार्यले जानकारी दिए ।

उनका अनुसार मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान छ । मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ ।

यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन इरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।

यस चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिङगो नेपालकै प्रचार प्रसार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू