शनिबार, वैशाख ८, २०८१
21:54 | ०२:३९

बेलायतसंग वार्तामा बस्नुअघि राजदूत र गोर्खाहरुले थाले तयारी

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२१

लन्डन । बेलायत सरकारसंग डिसेम्बरमा वार्ता शुरु गर्नु अघि भूतपूर्व गोर्खा र नेपाल सरकारका तर्फबाट राजदूत लोकदर्शन रेग्मीले तयारी थालेका छन् ।

गत ८ सेप्टेम्बरमा बेलायत, नेपाल सरकार र गोर्खा प्रतिनिधिहरुबीच प्रारम्भिक बैठक भएपछि नेपाली राजदूत रेग्मीको नेतृत्वमा दश जनाको कमिटी गठन गरिएको हो । राजदूत रेग्मीले गोर्खाहरुका समस्या तथा गुनासा सम्बन्धमा दुई साताभित्र प्राविधिक प्रतिवेदन अपडेट गर्न पनि अपिल गरेका छन् । त्यसपछिको हप्ता डिसेम्बरमा शुरु हुने वार्ताको तयारीका लागि अन्तिम समिक्षा गरिने गोर्खा सत्याग्रहले जनाएको छ ।

‘हाम्रो तर्फबाट आउंदो फेब्रुअरी २०२२ भित्र वार्ता समापन गर्ने र १ अप्रिल २०२२ देखि वार्ता समितिले तयार गरेको सिफारिस प्रतिवेदन कार्यान्वयन गर्ने प्रस्ताव राखिएको छ’, सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले भने ।

गोर्खा सत्याग्रहले एक विज्ञप्तिमार्फत आफ्नो प्रवक्तामा मेजर (रि) जुधबहादुर गुरुङलाई तोकिएको र उनले आगामी वार्ता र प्रगतिबारे अंग्रेजीमा जानकारी दिने बताएको छ भने प्रमुख संयोजक कृष्णबहादुर राईले नेपालीमा वार्ता प्रगतिबारे जानकारी दिनेछन् ।

‘हामी यसै विज्ञप्तिमार्फत भूतपूर्व गोर्खा नेताहरुलाई विरोधाभाषपूर्ण मन्तव्य नदिन पनि आग्रह गर्दछौं किनकि यसले हामी कसैको भलो गर्दैन्’, आइतबार जारी विज्ञप्तिमा छ ।

सत्याग्रहले आफ्नो आन्दोलनमा साथ दिने सबैप्रति आभार समेत व्यक्त गरेको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तैः
लन्डन । भूतपूर्व गोर्खाहरुलाई समान पेन्सन लगायत अधिकार दिने सम्बन्धमा नेपाल र बेलायत सरकारबीच वार्ता वेवास्ता गरिएपछि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भोक हड्ताल गर्न वाध्य भयो । अन्य विकल्प नभएपछि हामी मुटु दरो पारेर आमरण अनसन बस्न बाध्य भएका हौं ।

हामी हाम्रो आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष साथ दिने सबैप्रति आभार व्यक्त गर्न चाहन्छौं । निश्चय नै हामी समस्त भूतपूर्व गोर्खाहरुका लागि आफ्नो जीवन बलिदान गर्न तयार भइ भोक हड्ताल बस्नुभएका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घलेको योगदान कहिल्यै भुल्ने छैनौं ।

हामी ब्रिटिश र नेपाल सरकारले हाम्रा समस्याहरु बुझी ३२ वर्षदेखि बांकी रहेका मुद्दा सम्बोधन गर्नका लागि वार्ता समिति गठन गर्न सहमत भएकामा आभार व्यक्त गर्दछौं ।

यहांहरुलाई अवगत गर्न चाहन्छौं, गत ८ सेप्टेम्बर, २०२१ मा बेलायतका लागि नेपाली राजदूत महममहिम लोकदर्शन रेग्मीको आयोजनामा लन्डनस्थित नेपाली दूतावासमा प्रारम्भिक बैठक बस्यो । उक्त बैठकमा सम्माननीय बेलायती रक्षामन्त्री बेन वालेस र भेट्रान्स मन्त्री लियो डोचेर्टी र भूतपूर्व गोर्खा संगठनहरुका प्रतिनिधि पनि उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा सबै भूतपूर्व गोर्खा संगठनहरुका प्रतिनिधिका तर्फबाट गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले बेलायत र नेपाल सरकारलाई धन्यवाद दिंदै सरकार सरकारबीच छिट्टै वार्ता शुरु गर्न आग्रह गर्नुभएको थियो । उहांले वार्ताको रोडम्याप र ‘टाइम फ्रेम’ का लागि पनि आग्रह गर्नुभयो ।

महामहिम राजदूत लोकदर्शन रेग्मीले वार्ताको प्रोटोकलबारे आफ्नो प्रस्ताव विस्तृत रुपमा प्रस्तुत गर्नुभएको थियो । राजदूतले वार्ताको महत्वबारे प्रकाश पार्दै बेलायत र नेपालबीचको विशेष सम्बन्धको पनि चर्चा गर्नुभएको थियो ।
अन्त्यमा रक्षामन्त्री बेन वालेसले सबै सहभागीलाई स्वगत गर्दै आफ्नो सरकार भूतपूर्व गोर्खा मुद्दाको दीर्घकालिन समाधानका लागि कटिवद्ध रहेको जानकारी दिनुभयो ।

थप जानकारी
नेपाली राजदूत रेग्मीको नेतृत्वमा दश जनाको कमिटी समेत गठन भएको जानकारी समेत दिन चाहन्छौं । राजदूत रेग्मीले गोर्खाहरुका समस्या तथा गुनासा सम्बन्धमा प्राविधिक प्रतिवेदन दुई साताभित्र अपडेट गर्न पनि अपिल गर्नुभएको छ । त्यसपछिको हप्तामा डिसेम्बरमा शुरु हुने वार्ताको तयारीका लागि अन्तिम समिक्षा गरिनेछ ।

हाम्रो तर्फबाट आउंदो फेब्रुअरी २०२२ भित्र वार्ता समापन गर्ने र १ अप्रिल २०२२ देखि वार्ता समितिले तयार गरेको सिफारिस प्रतिवेदन कार्यान्वयन गर्ने प्रस्ताव राखिएको छ ।

यसै विज्ञप्तिमार्फत हामी गोर्खा सत्याग्रहको प्रवक्तामा मेजर (रि) जुधबहादुर गुरुङलाई तोकिएको अवगत गराउंदै उहांले आगामी वार्ता र प्रगतिबारे अंग्रेजीमा जानकारी दिनुहुनेछ भने सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपालीमा वार्ता प्रगतिबारे जानकारी दिनुहुनेछ ।

हामी यसै विज्ञप्तिमार्फत भूतपूर्व गोर्खा नेताहरुलाई विरोधाभाषपूर्ण मन्तव्य नदिन पनि आग्रह गर्दछौं किनकि यसले हामी कसैको भलो गर्दैन् ।

अन्त्यमा हामी सबैलाई सहयोग तथा समन्वयका लागि आभार व्यक्त गर्दै थप जानकारी उपलब्ध भएपछि 
संप्रेषण गर्ने अवगत गराउंछौं ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू