मंगलबार, असोज ५, २०७८
13:34 | १८:१९

गोर्खा मुद्दा अब छिट्टै टुंगिन्छः राजदूत (भिडियोसहित)

बेलायत आएपछि पहिलोपटक राजदूत मिडियामा

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२१
बेलायतका लागि २१ औं नेपाली राजदूत लोकदर्शन रेग्मीले १ मार्च २०२१ मा पदभार ग्रहण गर्दा नेपाल कोभिडको दोश्रो लहरबाट आक्रान्त थियो । नेपाल बेलायतबाट खोप सहयोगको आशामा 
रहिरहंदा यता भूतपूर्व गोर्खाहरु आफ्नो समान हक अधिकारका लागि आन्दोलित थिए ।
नेपाल सरकारको मुख्य सचिवबाट राजीनामा दिएर चुनौतिपूर्ण अवस्थामा राजदूतको जिम्मेवारी सम्हालेका रेग्मीले ६ महिना बिताइसकेका छन् ।
सञ्चारमाध्यम अगाडि कहिल्यै देखा नपर्ने राजदूत रेग्मीले पहिलोपटक बेलायत आएपछि नेपाली लिंकसंग खुलेर कुराकानी गरे । प्रस्तुत छ अन्तरसंवादको सारांशः
महामहिमज्यू, तपाईं यूके आएपछि गोर्खा समस्यालाई प्राथमिकता दिन्छु भन्नु भएको थियो । गोर्खा अभियन्ताहरुको १३ दिन लामो आमरण अनशनपछि ब्रिटिश सरकारले सेप्टेम्बर ८ मा तयारी बैठक पनि गर्‍यो, अरु के तयारी भइरहेको छ ?
सबैभन्दा पहिला नेपाल र संयुक्त अधिराज्य बेलायतको सम्बन्धको चर्चा गर्दा यसको आधारस्तम्भ वा मुख्य सम्पदा गोर्खा भेट्रान्सहरु हुन् । उहांहरुको हित प्रवद्र्धन, हित संरक्षण गर्नका लागि केही विषय निष्कर्षमा पुरयाउन बांकी रहेको महशुस हामीले 
गरेका छौं । त्यसैको सम्पूर्णताको लागि प्रयास केन्द्रित छ । यसका लागि बेलायत र नेपाल सरकारबीच सुमधुर र सौहाद्र्रपूर्ण रुपमा र समस्या छिटो भन्दा छिटो सम्बोधन गर्न अनुकुल वातावरण मिलेको छ ।
दुई पक्षीय सम्बन्ध थप उचाईंमा पुग्ने गरि विशिष्ठ प्रकृतिका केही पक्ष टुंग्याउन सघन तयारी गरिरहेका छौं । मलाई असाध्यै खुशी लागेको छ कि बेलायती रक्षा र भेट्रान मन्त्रीलाई ८ सेप्टेम्बरमा दूतावासमा स्वागत गर्ने मौका पाएका छौं ।
त्यस अवसरमा हामीले डिसेम्बरबाट शुरु हुने दुई देशका सरकार र गोर्खा भेट्रानका प्रतिनिधि सम्मिलित वार्ता समितिले अनुकुल वातावरण बनाउने, आपसी परामर्शलाई आकारमा ल्याउने गरि कार्यसूचीका बारेमा पनि छलफल गर्ने गरि सेप्टेम्बर ८ मा बैठक गरयौं ।
हामी गोर्खाहरुको प्रतिनिधिमुलक संस्थाका अध्यक्षहरु र विज्ञहरुसंग नियमित सम्पर्कमा थियौं । केही दिनअघिमात्र यही विषयमा ५-६ घण्टा छलफल पनि गरयौं ।
सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनको विषयमा छलफल गर्न ब्रिटिश सरकार अनिच्छुक देखिंदै आएको छ । यो समस्याको स्थायी समाधान निस्केला भनेर कसरी विश्वस्त हुने ?
आधारभूत रुपमा हेर्दा गोर्खाहरुका पेन्सन, क्षतिपूर्ति रकल्याणकारी कार्य मुख्य विषय छन् । नेपाल र यूकेको राजनीतिक र ब्युरोक्रेसी दुवै हिसाबले मैले काम गर्दा लामो समयदेखि बांकी रहेको समस्या यसपटक फेरि नउठ्ने गरि, स्थायी समाधान गर्न सक्छौं भन्ने विश्वास जागेको छ । हामी नेपाल सरकारको निर्देशनमा रहेर काम गरिरहेका छौं ।
 १७ दिन रिले अनसन र १३ दिन भोक हड्ताल बसेपछि मात्र बल्ल बेलायतले गोर्खाहरुको अनसन तोड्न चासो देखायो । बेलायत सरकारले बेवास्ता गर्नु र यति लामो समय लाग्नुको कारण के होला ? 
नेपाल सरकारले पनि अनसन नबसी शान्तिपूर्ण वार्ता गरौं भनेको हो र दूतावासको पनि त्यही धारणा थियो । दूतावासकै बैठकमा उहांहरुलाई अनसन नबस्न आग्रह पनि गरिएको थियो । यस किसिमको अवस्था नआउनुपर्ने थियो जुन दुःखद परिस्थिति हो । बस्नै नपरेको भए अझ राम्रो हुनेथियो । अनसन बस्नु ठिक होइन भन्ने मेरो पनि धारणा छ ।
अनसनको अन्त गर्न शुरुदेखि नै बेलायत सरकार र दूतावास पनि लागेको हो । तर, कतिपय विषयहरु देखिने र नदेखिने खालका हुन्छन् । पहल गर्ने क्रममा पक्कै पनि समय लागेको छ, जे होस् सकारात्मक रुपमा कदम अघि बढेको छ, पक्कै पनि यसले राम्रो नतिजा दिनेछ ।
नेपाल सरकार, बेलायत सरकार र भेट्रान्सबीचमा पनि धेरै विमति छैन् भन्ने लाग्छ मलाई । तसर्थ लामो समयदेखि बल्झिएर रहेको समस्या फेरी नदोहोरिने गरि अन्त हुने सम्भावना देख्छु म ।
कसरी अघि बढ्ने भन्ने विषयमा खाका तयार भइसकेको छ । नेपालीको हित हुनेगरि सम्झौता हुन्छ र दुई देशको सम्बन्ध पनि थप प्रगाढ हुनेछ ।
आधारभूत रुपमा गोर्खाहरुका चारवटा विषय पेन्सन, क्षतिपूर्ति, कल्याणकारी, स्वास्थ्य लगायतका विषय सबै समेटिनेछ । बेलायत सरकार एकदम सकारात्मक छ । यो मुद्दा सफल भए नेपाली दूतावासका लागि पनि गौरवको विषय हुनेछ ।
तपाईं बेलायत आउनासाथ नेपालमा कोभिडको दोश्रो लहरले आक्रान्त तुल्यायो । ब्रिटिश सरकारले पठाएको केही खोप तथा अन्य सहयोग सामग्री नेपाल  पुगिसकेको पनि छ । तपाईंको यसमा के भूमिका रहयो ? कोभिडविरुद्ध जुध्न ब्रिटिश सरकारबाट अरु के, कस्तो सहायता प्राप्त हुन सक्ने सम्भावना छ ?
बेलायत सरकारका प्रधानमन्त्री, रक्षमन्त्री, सांसद र लर्डस्हरु समेत हाम्रो पक्षमा देखिनुभएको छ । हामी दुई देशबीचको सम्बन्धमा नयां संस्करण खोजिरहेका बेला उहांहरु सबै नेपालको हितमा उभिनुभएको क्षण ऐतिहासिक हो भन्ने मलाई लाग्छ  ।
उहांहरु यति उदारताका साथ आउनुभएको छ कि यसले सम्बन्धलाई नयां संस्करणमा लैजान थप उत्साह पनि मिलेको छ । कोभिडको सन्दर्भमा पनि हामीले अनुरोध सघन रुपमा राखेपछि विदेश मन्त्रालय (एफसीओ) असाध्यै सकारात्मक भयो ।
एफसीओका माननीय मन्त्री अहमद, रक्षामन्त्री बेन वालेस दुवैले निकै ठूलो तत्परताका साथ नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिनुभएको छ । नेपालप्रति उहांहरुको मायाका लागि म उच्च प्रशंसा गर्दछु ।
बेलायत सरकार, बेलायती जनता, त्यसमा पनि विदेश मन्त्रालयका अहमद र रक्षामन्त्री बेन 
वालेसको ठूलो भूमिका छ । बेन वालेससंग मेरो भेट भएको तेश्रो दिनमा रोयल एयरफोर्सको जहाज स्वास्थ्य उपकरणसहित नेपालमा अवतरण भएको छ ।
मन्त्री लियो डोचेर्टीले पनि बिहान एउटा बैठक भएपछि दिउसो तीन बजे गोर्खाहरुको अनसन तोड्न आउनुभयो । वास्तवमा नेपाल र बेलायतको सम्बन्ध अझ व्यापक बनाउन उहांहरु उत्सुक हुनुहुन्छ । त्यसबाट लाभ लिएर नेपाल र नेपालीको अधिकतम हितमा लाग्नुपर्नेछ, हामी लागिरहेका छौं ।
खोपको सन्दर्भमा बेलायतले कोभ्याक्सबाट मात्र खोप उपलब्ध गराउने नीति हुंदा हुंदै पनि उदारताका साथ कोभ्याक्स् प्रणाली अतिरिक्त करिब एकलाख ३१ हजार खोप उपलब्ध गराएको छ । हामीले अहिले पनि त्यो कम हुन्छ, कम्तीमा २० लाख खोप चाहिन्छ, दुई पक्षीय सहायता अन्तर्गत चाहिन्छ भनेका छौं ।
दुई सरकार र जनस्तरको सम्बन्ध त्यत्तिकै जोडिएको छ । हामीबीच रगतको साइनो पनि छ किनभने कयौं युद्धमा अंग्रेज नेपालीहरु संगै लडेर एकापसमा रगत बांडेका छन् ।
हामीले शुरु देखि नै निरन्तर समन्वय र लवी गरयौं । परराष्ट्र मन्त्रालय स्तरमा कुरा भयो । राष्ट्रपतिको पत्राचार, प्रधानमन्त्रीबीच पनि सोझै कुरा भएको थियो ।
उहांहरुसंग कूटनीतिक संवादका क्रममा पनि सम्भव उपायहरु खोजेर नेपाललाई सहयोग गर्न तयार छौं भन्नुभएको छ ।
ब्रिटेन युरोपेली संघबाट बाहिरिएसंगै नेपाली वायु सेवाहरुलाई ब्रिटेनमा उडान गर्न कुनै अवरोध देखिंदैन् । यसबारे नेपाल सरकारले कुनै पहल गरिरहेको छ कि?
मैले काम गरिरहेको कूटनीति भनेको समृद्धिका लागि कूटनीति हो । विकास र समृद्धिमा केन्द्रित भएर दुई देशबीचको सम्बन्ध हाम्रो सगरमाथा जस्तै 
बराबर उचाइमा लाने भन्ने छ ।
दोश्रो प्राथमिकता, नेपाल र बेलायतबीच एयर रुट सञ्चालन गर्नेछ । ईयूसंगको एयर सेफ्टी अडिटमा केही कमी छ भने त्यसलाई पूर्णता दिने ।
हवाइ सेवा प्राधिकरणले रेगुलेटरको पनि काम गर्ने र अपरेटरको काम गर्ने एउटै संस्था थियो 
हाम्रो । अब रेगुलेटर र अपरेटर छुटयाउनुपर्छ भन्ने छ । यो जरुरी विषय पनि हो । रेगुलेटर र अपरेटर छुट्टा छुटटै बनाउने विधयेक अहिले संसदमा छ । त्यो विधेयक पारित हुन्छ ।
गत जेठमा आइकाओले गरेको एयर सेफ्टी अडिटमा हामी पास भइसकेका छौं । विधेयक बन्दै गर्छ, त्यसमा हाम्रो कमिटमेन्ट देखिइसकेको छ । कोरोनाले गर्दा सघन रुपमा फोर्स गर्न मिलिरहेको छैन् । समय अनुकुल हुने बित्तिकै एक महिनाको बीचमा एक दुईवटा वार्ता गरिसकेपछि एयर रुट पुनः सञ्चालन गर्न हामी अगाडि बढ्छौं । त्यो गर्नै पर्छ, किनकि बेलायतमा रहेका नेपाली आफ्नै जहाजबाट नेपाल जान पाउनुहुन्छ र बेलायत नेपालबीचको पर्यटन प्रवद्र्धनमा पनि त्यसले ठूलो योगदान पुग्छ । साथै नेपालबाट निकासी गर्न पनि सजिलो हुन्छ । त्यसलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छौं ।
तपाईंले आउनेबित्तिकै आफ्ना ७ प्राथमिकता बताउनुभएको थियो, त्यसलाई बुंदागत रुपमा प्रकाश पारिदिनुस् न ?
पहिलो प्राथमिकता नेपाल र बेलायतको सम्बन्धलाई हाम्रो गरिमामय इतिहासको जगमा समकालिन आवश्यकताको सम्बोधन हुने गरि थप उचाइंमा पुरयाउने र विस्तार गर्ने, दोश्रो नेपाल र बेलायतीच सिधा हवाइ सेवा पुनः सञ्चालनमा ल्याउने, तेश्रो नेपालमा उर्जा उत्पादनका लागि, सडक निर्माणका लागि, कृषि र वनजन्य प्रशोधन उद्यागेका लागि बेलायत सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय कोषका तर्फबाट नेपालमा लगानी बढाएर लैजाने छ ।
लन्डनमा भएका बैंक तथा वित्तिय संस्थाहरुको शाखा वा प्रतिनिधि कार्यालय नेपालमा राख्न सकियो भने नेपालको वित्तिय क्षमताको विश्वसनीयता बढ्छ । यसमा म लागिरहेको छु ।
ब्रिटेनबाट नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्ने तपाईंको योजना के छ?
बेलायत सरकारबाट नेपालले बढी भन्दा बढी फाइदा लिन सक्नुपर्छ । बेलायत नेपालको प्रमुख दातृराष्ट्र पनि हो । हामीले बेलायतसंग भौतिक पूर्वाधारको क्षेत्रमा पनि सहयोग लिनुपर्छ ।
हाइड्रोपावर, कृषि र वनजन्यमा आधारित प्रशोधनका उद्योग खोल्न सरकारी र निजी तर्फबाट पनि लगानी लैजाने मेरो प्रयास छ ।
लन्डन इन्टरनेशनल फाइनान्सियल हब भएकाले माथिका परियोजनामा लगानी लैजान हामी कोशिस गरिरहेका छौं ।
मेरो प्रमुख प्राथमिकता, बेलायत नेपाल करिब २०७ वर्षको ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धलाई अहिलेको परिस्थितिमा नेपाल र नेपालीका लागि अत्यधिक हित हुने गरि नयां संस्करणमा लैजाने भन्ने छ ।
जस्तो अहिले विश्वव्यापी, क्षेत्रीय र दुई पक्षीय विषयहरु छन् । ति विषयहरुमा पनि नेपालको हित हुने गरि बेलायतसंगको सम्बन्ध अझ सशक्त बनाउने भन्ने हो ।
उदाहरणका लागि ग्लास्गोमा छिट्टै कोप २६ सम्मेलन हुंदैछ । क्लाइमेट चेन्जमा सबैभन्दा ठूलो विषय विकसित राष्ट्रहरुले बढी कार्बन इमिसन इमिट गरिरहेका छन् । त्यस कारणले ‘ग्लोवल वार्मिङ’ भयो, तातेर हाम्रो हिमालय पग्लिए, हिमनदी फुटे अनि विभिन्न प्राकृतिक विपद आएको छ । यस्तो परिस्थितिमा त्यसलाई रोक्न ‘मिटिगेसन’ र ‘एडप्टेसन प्लान’ जरुरी छ ।
क्लाइमेट चेन्जसंग जोडिएर पनि नेपालमा लगानी जानु पर्छ । ‘ग्लोवल वार्मिङ’ न्यूनीकरणका लागि परम्परागत उर्जाका श्रोत कम प्रयोग गर्न, डिजेल 
पेट्रोल कम गर्न विद्युत चाहिन्छ । नेपालमा विद्युत उत्पादन गर्न सोलार र हाइड्रोको अत्यधिक सम्भावना छ । हामीले बेलायतजस्ता विकसित देशहरुबाट नेपालमा उल्लेखित परियोजना सञ्चालन गर्न सहयोग लिनुपर्छ ।
नेपाली राजदूतहरुको धेरै जसो समय नेपाली संघसंस्थाको कार्यक्रममा भाग लिंदैमा बित्ने गर्छ । तपाईंको कार्यशैली कस्तो हुनेछ?
म भियना कन्भेन्सन अन्तर्गत कूटनीतिक क्षेत्रमा काम गर्ने राजदूत हुं । इन्टरनेशनल कन्भेन्सनको पालना गर्दै सरकारको नीति निर्देशन अन्तर्गत रहेर नेपालको प्रतिनिधित्व हुने गरि नेपालीको हितका लागि काम गर्ने मेरो प्राथमिकता छ ।
मलाई नेपाल सरकारले अर्थ सचिव, मुख्य सचिव भएर काम गर्ने अवसर दिइसकेकाले त्यो अनुभवलाई उपयोग गर्दै अधिक भन्दा अधिक आर्थिक कूटनीतिमा लाग्ने कोशिस गरिरहेको छु ।
तपाईं बेलायतको नेपाली समुदायसंग विस्तारै परिचित हुंदै हुनुहुन्छ । कस्तो पाउनुभयो नेपालीको बसाइ बेलायतमा ?
नेपालीहरु क्षमतावान भएर संसारको जुनसुकै ठाउंमा पनि दिग्विजय गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि जोखिम पनि लिनुपर्छ । बेलायतका नेपालीमा विशिष्ट प्रतिभा भएर नै यहां आएर प्रतिष्पर्धी ठाउंमा आफू स्थापित हुनु भएको छ । उहांहरुलाई श्रद्धा गर्छु र उहांहरु प्रेरणाको श्रोत पनि हो।
आफ्नो पेशा, व्यवसाय, कार्यक्षेत्रमा अझ उल्लेखनीय उपलब्धि हासिल गर्दै जानुहोस् मेरो शुभकामना छ । बेलायतमा नेपालीले सेवामुलक रेष्टुरेन्ट व्यवसायमा एकदम राम्रो गरेको पाएं । नेपाली दूतावासले तपाईंहरुलाई अभिभावक, प्रवर्धक, संरक्षक र सहयोगीको भूमिका गरिराख्छौं ।
(प्रस्तुत अन्तर्वार्ता गत ६ तारिख सोमबार लिइएको हो) 
भिडियो-
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू