शनिबार, वैशाख ८, २०८१
06:34 | ११:१९

गुरुङको सम्पादनमा बेलायतका नेपाली स्रष्टाका गीतहरु एउटै संग्रहमा

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२१

नेपाली मेलामा ‘बेलायतमा नेपाली गीत’ संग्रह विमोचन गरिंदै

लन्डन । बेलायतवासी गीतकार एवम् संस्कृतिविद् एकेन्द्र गुरुङको सम्पादनमा प्रकाशित ‘बेलायतमा नेपाली गीत’ संग्रह विमोचन भएको छ । 

गत आइतबार लन्डनमा सम्पन्न बाह्रौं नेपाली मेलाका अवसरमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले संग्रह विमोचन गरेका हुन् ।

गुरुङ साहित्यिक मञ्‍च नेपालले संग्रह प्रकाशन गरेको हो । जसमा नेपालमा जन्मे, हुर्केका र हाल बेलायतमा रहेका स्रष्टाका गीति रचनाहरु संग्रहित छन् ।

सम्पादक गुरुङका अनुसार संग्रहमा ८० जना स्रष्टाका दुई–दुई रचना समेटिएका छन् । स्रष्टाहरुमध्ये २१ जना नारी छन् । प्रत्येक स्रष्टाको फोटोसहित संक्षिप्त परिचय समेत संग्रहमा समावेश छ ।

संग्रहलाई शुभकामना सन्देश दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले स्रष्टाको परिचयमा उल्लेख कृति र संलग्न संघसंस्थाले विदेशमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको मूल्यांकन गर्ने आधार बनेको उल्लेख गरेका छन् । ‘यस गीत संग्रहमा नेपालको बाटोघाटो, भञ्‍ज्याङ, चौतारी र द्यौराली, लेक–बेंसी, महभीर, खर्क र खर्चरी, सिमेभूमे सबै प्राकृतिक स्रोत र संस्कृतिले बास गरेको छ,’ शुभकामना दिँदै उपकुलपति गुरुङले भनेका छन्, ‘सम्पूर्ण नेपालको प्रतिनिधित्व भएको छ । अतः कृतिमा नेपाल र नेपालीप्रति अपनत्वभाव झल्केको छ ।’

त्यसैगरी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले यस गीति संग्रहले प्रवासमा रहेका स्रष्टाहरूको रचनाले समाजलाई दिशानिर्देश गर्ने उल्लेख गरेका छन् । 

बेलायतका नेपाली स्रष्टाहरुका कविता, कथा, निबन्ध लगायतका संग्रह प्रकाशन भइसकेको सन्दर्भमा गीतकारहरुका सिर्जना पनि संकलन गर्ने लक्ष्यसहित गीति संग्रह प्रकाशन गरेको सम्पादक गुरुङ बताउँछन् ।

‘यसअघिका राजदूत दुबसुजीले बेलायतस्थित नेपाली स्रष्टाका कविता, कथा र निबन्ध संग्रहहरु प्रकाशन गर्नुभयो । विजय हितानजीले पनि कविताहरु संग्रहित गर्नुभएको छ । गीत लेख्ने पनि धेरै स्रष्टाहरु हुनुहुन्छ । उहाँहरुको सिर्जनालाई एकत्रित गर्ने र संग्रहका रुपमा सुरक्षित गर्ने मेरो प्रयास हो’, उनले भने ।

आफ्नो जीवनको महत्वपूर्ण समय नेपालमै शिक्षण पेशामा बिताएका गीतकार गुरुङ अवकाशप्राप्त जीवनमा गीत लेखन, चलचित्र निर्माण जस्ता सिर्जनशिल कार्यमा व्यस्त छन् ।

नेपाली र गुरुङ भाषामा गरी उनले लेखेका दुई दर्जन बढी गीत रेकर्ड भएका छन् । उनका १ सय ३० वटा गीत संग्रहित गीतसंग्रह पनि प्रकाशित भइसकेको छ । यसबाहेक उनले करिब आधा दर्जन गुरुङ चलचित्र निर्माण समेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू