मंगलबार, वैशाख ११, २०८१
18:23 | २३:०८

भूपू गोर्खा मुद्धामा निरन्तर दबाव दिने बेलायती सांसद शर्माको प्रतिवद्धता (भिडियो)

नेपाली लिङ्क सेप्टेम्बर २, २०२१

लन्डन । नेपाली समुदायसंग ज्यादै निकट रहेका बेलायती सांसद वीरेन्द्र शर्माले भूतपूर्व गोर्खाको पेन्सन मुद्दा पार नलागेसम्म साथ दिइरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष शर्माले गोर्खाहरुको समानता र पेन्सन मुद्दा सजिलै समाधान नभएपनि सरकारलाई दवाव दिन छाड्न नहुने बताए ।

उनले यस सवाललाई बेलायती रक्षा मन्त्रालय, विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुरयाउने अठोट व्यक्त गर्दै समान हक अधिकारको आन्दोलनमा बेलायती सांसद र जनताको पूर्ण साथ रहेको उल्लेख गरे ।

‘प्रजातान्त्रिक प्रणालीमा जुनसुकै सरकार पनि दिन आनाकानी र ढिलाइ गर्छन् तर हामीले प्रेसर गरिरहनुपर्छ’, उनले भने, ‘गोर्खाहरुमाथि भेदभाव भएकोबारे सबै जानकार छन् । यो मुद्दा समाधान नगरि बेलायतलाई सुखै छैन् ।’

गोर्खा समस्या समाधानका लागि विगत वर्षहरुदेखि नै निरन्तर साथ दिंदै आएका सांसद शर्माले बेलायत सरकार वार्तामा बस्न राजी हुनु पनि सकारात्मक भएको बताए ।

भूपू गोर्खाहरुले १३ दिन अनसन बसेपछि बेलायतले उनीहरुका समस्या समाधान गर्न वार्तामा बस्ने लिखित प्रतिवद्धता जनाएपछि अनसन अन्त्य भएको थियो ।

बेलायत सरकार, नेपाल सरकार एवं गोर्खा प्रतिनिधिहरुबीच पहिलो वार्ता यही सेप्टेम्बर ८ मा बस्दैछ ।

को हुन् वीरेन्द्र शर्मा ?

बेलायतको नेपाली डायस्पोरामा निकै परिचित छन् शर्मा । नेपाल र नेपालीको हितका लागि सधैं चिन्तित रहिरहने लेबर पार्टीका नेता शर्मा चाहे महाभूकम्प होस्, चाहे कोरोना महामारी । अथवा नेपालीको आपतविपतमा सधैं अग्रपंक्तिमा रहेर काम गरे ।

उनले बेलायत सरकारलाई बारम्बार दवाव दिएर नेपालमा कोभिड खोप पठाउन अभियान शुरु गरेका थिए । गोर्खा मुद्दा र खोप सवालमा राजदूत लोकदर्शन रेग्मीको कूटनीतिक क्षमताले सफलता मिलेको उनको बुझाइ छ ।

राजदूत रेग्मीमा कूटनीतिक तथा राजनीतिक दुवैको लामो अनुभवले उनीसँग काम गर्न सजिलो भएको र आफू धेरै आशावादी रहेको पनि उनले बताए ।  

५ पटक नेपाल पुगिसकेका उनी नेपाललाई ‘तेश्रो घर’ ठान्छन् । नेपाल मामलाका जानकार शर्मा नेपालमा आफूले पाएको सम्मान तथा आतिथ्य कहिल्यै बिर्सन नसकिने बताउंछन् । कोरोना महामारी हटेपछि फेरी नेपाल जाने सोच छ उनको ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू