हाजरा र रातो पासपोर्ट


पूर्वी लण्डन । इसेक्सको सानो टाउन । हामी लञ्च ब्रेकमा छौं । हाजरा निक्कै खुशी देखिन्छे । हिजो बेलायती रातो राहदानी पाएको खुशीयालीमा लञ्चको भुक्तान उसैले गरि ।
हाजरा, कालो बुर्का ओढ्दिन । काँधसम्म छाँटेको स्टेप कट कपाल । गाजलु ठुला आँखा । त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि ?”
हो, एकदम खु्शी छु यद्धपि, प्रष्ट हुन सकेकी छैन, संतुष्टि र प्राप्ति के हो यो रातो राहदानी मेरा लागि ? वास्तवमा आफैं अन्योलमा छु म । आफैंसँग प्रतिप्रश्न गर्छे हाजरा– एउटा ‘सचेत नागरिक’ र केवल, ‘मान्छे’ मात्रै भएर बाँचिदिनुले के साँच्चै नै गहन तथा ब्यापक अर्थ बोकेको हुन्छ ?
मैले बुझिन हाजरा ।
हाजराले बुझाउन खोजी मलाई—‘संझिप्तमा भन्नुपर्दा, वर्तमान यो अवस्थासँग दाँजेर हेर्दा मेरो जीन्दगी सामान्य देखिरहेकी छौ नि ! वास्तवमा, एककिसिमको भयंकर दुःस्वप्नबाट गुज्रिरिएर यो अवस्थासम्म आइपुगेको हुँ म ।’
चलचित्रको फल्यासब्याकजस्तै हाजरा सुनाउँदै जान्छे….शरणार्थी बनेर बर्षौं बेघर विताएका समयका प्रत्येक पीडाले मलाई यो स्थितिबोध दिइरहेको थियो कि, कहाँ र कसरी अटाउन सकिन्छ यो जीन्दगीलाई ।
जलालबादका बासिन्दा थियौं हामी । राजधानी काबुलदेखि करिब १५५ कि.मी. सडकदूरी । पाकिस्तानको दक्षिण सिमाना नजिकैको सुन्दर शहर । नब्बेको दशकको मध्यसमय । तालिवानहरुको विगविगी । राजधानी काबुलमाथि अतिक्रमण गर्नुअघि जलालबाद मुख्य नाका थियो तालिवानहरुको । राजनैतिक अस्थिरताको भयंकर द्वन्दमा कसरी बिते मेरा किशोर दैनिकीहरु बताउन सक्दिन म । थाहा थिएन, के भइरहेको थियो । रातारात पाकिस्तानको भूमिमा हुन्थ्यौं कहिलेकाहिं हामीहरु ।
केहि भावुक बन्छे हाजरा ।
सुनाउँदै गई…..मेरा अन्य धेरै आफन्तहरु पाकिस्तानस्थित शराणार्थीशिविर पहिल्यै गइसकेका थिए । आधारभूत अभावभन्दा पनि राजनैतिक अस्थिरताको चपेटभित्र भिषण संन्त्रासमा बितायौं ।
शुन्य शहर । बन्द विद्यालय । बन्द बजार । सबै बन्द । कर्फयु लागेका रातहरु । अस्थायी शिविरमा बितायौं । झरीमा बितायौं । उष्ण तापमा बितायौं । चिसोमा बितायौं । अनिंदो बितायौं । भोको बितायौं । गरिबी एवं अशिक्षामा बितायौं । महाशुन्यमा बितायौं ।
नेपालकै सन्दर्भमा, कैंयन छन् तत्कालिन माओवादी जनयुद्धको दुःस्वप्नबाट गुज्रिएका अनागरिकहरु मुलुकमै पनि । उस्तै समान पीडा र अनुभव बोकेर विस्थापित भएका नेपाली । राहदानी त के जीन्दगीभर नागरिकता नदेखेका अथवा नपाएकाहरु नागरिकहरु छन् मुलुकमा ।
आफ्नै आँगनमा हाजराजस्तै बेघर भएकाहरु कति छन् कति । राहदानी सवालभन्दा भोको पेट र नांगो आङ्ग ढाक्ने सवाल उनीहरुको पहिलो प्राथमिकता हो ।
समग्रमा सबैको प्रतिनिधि आवाज बोक्दिन । समर्थन या विरोध दुवै छैन । हाजरासँगै सायद म भावुक बन्दै गएँ ।
हाजराले थप सुनाई, ‘थाहा छ ? यस्तो परिस्थितिमा बाँच्नका लागि सिंगो मुलुक सोच्दैनन् मान्छेले । टेक्नका लागि सानो आँगन नै प्रिय हुँदोरहेछ । आफ्नो जीन्दगी पनि खुबै प्रिय लाग्दोरहेछ ।’ हाजरा बोलिरहँदा पानीरंगको लिपग्लस उसको ओंठमा टल्कियो ।
वातावरणलाई सहज बनाउने प्रयास गर्दै हाजराले भनि, ‘चियर अप गर्ल! आखिर, आत्महत्या गर्न पनि त आँट चाहियो । जीवनमोह पनि अनौंठो नै हुँदोरहेछ । वास्तवमा, बाँच्न तथा आत्महत्या दुवैका लागि दरिलो आँट चाहिंदोरहेछ । ममा त्यस्तो आँट केहि नभए पनि कमसेकम बाँच्ने कोशिस गर्दैछु ।
धेरै घुमाउरो र अप्ठ्यारो कुईंनेटो काटेर यहाँसम्म आईपुग्दा मान्छेका स्वाभिमान तथा सिद्धान्तहरु सम्झौताको संघारमा आएर साँच्चै नै रनभुल्ल पर्दोरहेछ । त्यहि अवस्थामा छु म । मान्छेले के सोच्छन्, त्यो सोच्न सक्दिन अहिले । अचानक एउटा प्रसंग मेरो मष्तिष्कमा आइदियो ।
बेलायत बसाईको मेरो अवस्था कस्तो गुज्रदै छ भन्ने सन्दर्भमा मेरा एक पुराना परिचितले लेखेको बयान र घुमाउरो प्रश्न-
‘मैले पनि १७ वर्ष विदेशमै बिताएको थिएँ । नेपालमा छँदा कहिले पनि नरुचाएको गुन्द्रुकको झोल विदेशमा छँदा मिठो मान्दै खाएको छु । लण्डन घुमेको संझेको छु । High Gate Cemetery, British Museum, Big Ben-West Minister, Charring Cross Station, BBC House, Natraj Restaurant in Warren Street, Greenwich Museum, Double Deck Red Bus, Buckingham Palace, Trafalgar Square, Madame Toussades, London Tube, Victoria Station, Boating in Thames …Sea Link (English Channel) Ferry चढेर Ostend बाट Dover पुग्दाको रात, अध्यागमन विभागमा कुईरेले मेरो हरियो पासपोर्ट हेरेर मलाई आँखा तरेको अझै संझन्छु ।’
धेरैवर्ष अघि बेलायत छोडेका उनी हरियो पासपोर्टसँगका यात्राको तिक्त उनको प्रसंगसँगै अहिलेको बेलायत बस्ने आप्रवासी नेपालीहरुको भोगाई कस्तो छ जान्न चासो छ उनलाई ।
“के तिनिहरु अझै पनि त्यसरी नै आँखा तर्छन्? नेपाली हरियो पासपोर्ट वैदेशिक अध्यागमनको कर्मचारीको हातमा पर्दा?” घुमाउरो प्रश्न तेरस्याएका थिए ।
एउटा सिंगो याम बित्दैछ । उक्त सवालको जवाफ मसँग छैन ।
अध्यागमन विभागमा कुईरेले हरियो पासपोर्ट हेरेर तर्ने आँखाको प्रसंगमा–हाजराजस्तै बेलायती रातो राहदानी निकाल्ने धेरै नेपाली छन् यहाँ । रातो राहदानीको मोहभन्दा पनि अनौंठो नियति ! या सहज विकल्प । ‘स्थानीय नागरिकसरह पाईने अन्य सुविधाहरु भन्दा पनि यात्रा गर्दा वैदेशिक अध्यागमनमा विभागमा ब्यहोर्नु पर्ने हरियो नेपाली पासपोर्टको तितो अनुभवबाट बच्न सकिन्छ ।’ भन्ने सहज एवं बैकल्पिक उपाय भन्ने सुनाउँछन् रातो राहदानी, केहि चिनारु ।
रातो राहदानी भर्खरै निकालेका मेरा एक घनिष्ट मित्रले सुनाए, ‘आत्मसम्मान प्रत्येक सचेत नागरिकले जहिं बसेर जुनसुकै अवस्थामा पनि बोकेका हुन्छन् । यो रातो राहदानीको यात्रा सहजका लागि माध्यममात्रै हो, मेरा लागि ।’

लारा
सुरुमा त लागेको थियो, बेलायतको नागरिक बन्न खोज्दैछे यो हाजरा पनि । अनुमान मेरो ।
हाजराको अनुहारका भावहरु नियाल्दैछु । आड पाएर सोधें– “के तिमी कुनै दिन आफ्नो मुलुक अफ्गानस्तान फर्किछौ ?”
“संभवतः कहिले नफर्किन पनि सक्छु । बारम्बार सपनामा आइरहने त्यो प्रिय जलालबाद सायद कहिले नफर्किन सक्छु । राजनीति गर्दिन न त मुलुकको संरचनाभित्र अटाउँछु ।” हाजराले निश्चितप्रायः जवाफ फर्काई ।
थप अर्को प्रश्न तेरस्याएँ– ‘आफ्नो मुलुकलाई के तिमी यतिविघ्न घृणा गर्न सक्छौ? सुनेकी थिएँ, पठानीहरु कट्टर हुन्छन् तर हाजरा, तिमी निर्दयी पनि रहिछौ ।’
‘स्वभावैले स्वार्थी मान्छे । घृणा होइन । स्वार्थी बन्दैछु र सायद मुलुकको कहिले नटुंगिने यो श्रंखलाबद्ध राजनैतिक अस्थिरताले झन् मजबुत कारण दिंदैछ ।’ हाजराले गह्रौं हुँदै सुनाई ।
यहि मेसोमा, ‘कसरी विश्लेषण गर्ने आत्मसम्मान तथा स्वाभिमानका परिभाषाहरुलाई?’ हाजरालाई सोधेकी थिएँ । संझिप्त उत्तर हाजराको –‘आत्मसम्मान पनि मान्छेका भोगाई तथा मानसिक परिप्रेक्ष्यको सापेक्षसँग तुलना गर्न बाध्य हुनुपर्दोरहेछ ।’
‘मातृभूमिको माया त झन् प्रवासमा बस्नेहरुलाई नै लाग्छ नि, हैन र? मान्छेका मनस्थितिहरु जब विथोलिन्छ नि ! तिमी अनुमान गर्न सक्तिनौ–आत्मसम्मान तथा स्वाभिमान के हो? हाजराले लामो निश्वास छोडेर एकप्रकारको वितृष्णा पोख्दै सुनाई— देशप्रेमका भावना तथा दर्शनका ब्याख्याहरुभन्दा बेगल यर्थातको यो धरातलमा आफैंलाई बढि माया गर्न थालेकी छु । यस्तो नहुँदो हो मुलुकको अवस्था, दुइ अलग मुलुकका हामीसँगै देशप्रेम र स्वाभिमानको प्रसंगमा जोडिएका हुँदैन थियौं होला ।
हाजरा, एउटी शराणार्थी आफ्नो जन्मभूमिप्रति प्रेमभन्दा पनि दुःस्वप्नहरुबाट मुक्त हुन सकिरहेकी छैन। उ भन्छे, ‘सायद विद्रोही बन्दैछु । कहिलेकाहिं यो विद्रोहले पनि एकप्रकारको सतुंष्टि दिंदोरहेछ । मान्छे हुनत, कहिले पुर्ण र संतुष्टि बन्न सक्दैन । या, संतुष्टि हुनुको खास अर्थ पनि नहोला ।’
प्रिय हाजरा,
समयले क्रमशः तिम्रा बिगतका घाउहरु भरिंदै जालान् । दुःस्वप्नबाट मुक्त भएर तिमी आफ्नो मुलुकलाई औधी प्रेम गर्न सुरु गरौली । र, कुनैदिन तिमी जलालबाद फर्किने छौ । प्रियजनहरुसँग तिम्रो पुर्नमिलन हुनेछ ।
भिन्न सोच । फरक अभिमत । अलग परिणाम । अनेकन प्रतिक्रिया । हाजराका रातो राहदानीभित्रका बाध्यता ।
हाजरासँग रातो राहदानीको प्रसंगमा कुराकानी भइरहँदा, वैदेशिक अध्यागमन विभागमा नेपाली हरियो पासपोर्टप्रतिको मानसिकता तथा आँखा तर्ने परिदृश्यहरु मेरो मष्तिष्कदेखि ओझेल हुन सकेन ।
मेरा ती घनिष्ट मित्रले भनेका हरफहरु पुन: सम्झिएँ, ‘आत्मसम्मान प्रत्येक सचेत नागरिकले जहिं बसेर जुनसुकै अवस्थामा पनि बोकेका हुन्छन् । यो रातो राहदानी यात्रा सहजका लागि माध्यममात्रै हो, मेरा लागि ।’
उसो भए रातो राहदानी केवल सहज यात्राका बिकल्पका लागि मात्रै हो भने, बरु त्यो रातो राहदानीको बिकल्पमा- मुलुकको अस्थिर राजनीतिक अवस्था जेहोस् ‘नेपाली हरियो पासपोर्ट’ देख्दा हेयदृष्टि राख्ने वैदेशिक अध्यागमन विभागका कर्मचारीहरुका नजर तथा मानसिक हेपाहा प्रवृतिउपर परिवर्तन आउनसक्ने अवस्था कहिले र कसरी सिर्जना गर्न सकिएला ?
प्रत्येक भुक्तभोगी स्वभिमानी नेपाली नागरिकका अन्तर हृदयभित्र पनि के उस्तै चिन्तन नहोला त? समाप्त
लारा (पात्रहरुसंग एक साँझ कथासंग्रहबाट)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५