मंगलबार, १६ जुन, २०२६
01:49 | ०६:३४

बेलायत आतंकवादको निसानामा, समातिए चार इरानी

नेपाली लिङ्क मार्च ६, २०२६

खानतलासका क्रममा बेलायती महानगरीय प्रहरी । तस्विर- पिए

लन्डन । बेलायत बसेर इरानलाई जासुसी गरेको आरोपमा बेलायती प्रहरीले शुक्रबार चार जनालाई पक्राउ गरेको छ ।

इरानसँग सम्बन्धित आतंकवाद अनुसन्धानका क्रममा महानगरीय प्रहरीले एक इरानी र तीनजना दोहोरो नागरिकतावाहक ब्रिटिश–इरानी नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले एक विज्ञप्तिमार्फत बार्नेट क्षेत्रबाट ४० र ५५ वर्षका दुई पुरुष, वाटफोर्डबाट ५२ वर्षीय एक पुरुष र ह्यारोस्थित ठेगानाबाट २२ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी अधिकारीहरूले बार्नेट, वाटफोर्ड र वेम्बलीको अर्को ठेगानामा पनि खानतलास गरेका थिए ।

पक्राउ गरिएका व्यक्तिले लन्डनमा यहुदी समुदायको संदिग्ध निगरानी गरिरहेका आशंका छ ।

काउन्टर टेररिज्म पुलिसिङ लन्डनकी प्रमुख कमाण्डर हेलेन फ्लानागनले लामो समयदेखि चलिरहेको अनुसन्धान र शंकाष्पद गतिविधि रोक्न जारी कदमकै रुपमा यो गिरफ्तारीलाई लिइएको जनाइन् । प्रहरीले स्थान र व्यक्तिहरूको निगरानीसँग सम्बन्धित अनुसन्धान गरेको थियो ।

गृहमन्त्री सबाना महमुदले एक विज्ञप्तिमा बेलायती प्रहरी र सुरक्षा सेवा ‘विश्वमा अग्रणी’ रहेको आश्वस्त पार्दै बेलायतलाई हुने कुनै पनि खतराविरुद्ध कारबाही गर्न सरकार नहिचकिचाउने बताएकी छन् ।

गत अक्टोबरमा बेलायतको घरेलु प्रति–जासूसी र सुरक्षा एजेन्सी ‘एमआइ ५’ का महानिर्देशक केन म्याकलमले बेलायतमाथि आतंकवादको खतरा वृद्धि भएको उल्लेख गर्दै बेलायती अधिकारीहरुले एक वर्षमा २० वटा भन्दा बढी सम्भावित घातक इरान–समर्थित षड्यन्त्र निस्तेज पारेको जनाएका थिए ।

प्रधानमन्त्री किअर स्टारमरले गत सोमबार बेलायती संसद हाउस अफ कमन्समा आतंकवाद विरोधी अधिकारीहरूले सामना गरिरहेका चुनौतीबारे उल्लेख गर्दै इरानले बेलायतस्थित यहुदी समुदायलाई धम्की दिइरहेको बताएका थिए ।

‘गत वर्ष मात्र बेलायती नागरिकविरुद्ध इरान–समर्थित षड्यन्त्रहरू विफल गरियो । इरानले निम्त्याउने खतराबारे हामी स्पष्ट हुनुपर्छ’- प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू