मंगलबार, जेठ १, २०८१
14:06 | १८:५१

१३ औँ दिनमा तोडियो गोर्खाको आमरण अनसन, दुई देशबीच वार्ताको सहमति

नेपाली लिङ्क अगस्ट १९, २०२१

लन्डन । समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले लन्डनमा गरेको आमरण अनसन अन्त्य गरेका छन् ।  

गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्तात्रय ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसन बसेको तेह्रौं दिनमा बिहीबार अनसन तोडेका हुन् ।  

सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सत्याग्रहीले राखेको माग सम्बोधन भएपछि अनसन तोडिएको बताए ।  

‘गोर्खाका मुद्धामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको छ ।प्राविधिक संयन्त्रको सिफारिशकै जगमा बेलायत, नेपाल र गोर्खाहरुसहितको वार्ताको सहमति बनेको छ’, उनले  भने ।  

सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच प्रारम्भिक  छलफल हुने र डिसेम्बर महिनाबाट वार्ता शुरु हुने प्रमुख संयोजक राईले जानकारी दिए ।

बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका थिए ।

भूपू गोर्खालाई समान अधिकारको माग गर्दै गोर्खा सत्याग्रह समितिका तीन अभियन्ताहरु गत अगस्ट ७ तारिखदेखि आमरण अनसनमा थिए ।

बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ लियो डोचेर्टी र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी

उनीहरुको यो आन्दोलनमा बेलायतस्थित नेपाली संघसंस्था र सिंगो नेपाली समुदायले ऐक्यवद्धता प्रकट गरेको थियो ।  

साथै, बेलायतका भेट्रानहरु, विभिन्न राजनीतिक दल तथा नेता र आम समुदायले समेत उनीहरुलाई व्यापक रुपमा समर्थन जनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू