बुधबार, जेठ २, २०८१
23:44 | ०४:२९

गोर्खाहरुसँग वार्ता गर्न बेलायती रक्षामन्त्रीले राखेको प्रस्ताव अस्वीकार

नेपाली लिङ्क अगस्ट १६, २०२१

लन्डन । अनसनकारी गोर्खाहरुसँग वार्ता गर्न बेलायती रक्षामन्त्रीले राखेको प्रस्ताव उनीहरुले अस्वीकार गरिदिएका छन्। 

समान अधिकारको मागसहित आमरण अनसनमा बसेका भूपू गोर्खाहरुसँग वार्ता गर्न बेलायती रक्षामन्त्री बेन वालेसले आइतबार प्रस्ताव गरेका थिए । 

गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुको आमरण अनसन एघारौँ दिनमा चलिरहँदा मन्त्री वालेसले गोर्खाका मागहरु सम्बन्धमा छलफलका लागि आफू गोर्खा अभियन्ताहरुसँग भेट्न गर्न ईच्छुक रहेको भन्दै सत्याग्रह समितिलाई ईमेल पठाएका थिए ।  

सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरु दुई जनासँग भेटका लागि मन्त्री वालेसले प्रस्ताव राखे पनि त्यो अस्वीकार गरिएको नेपाली लिंकसँग बताए ।   

‘हाम्रो बटमलाइन् बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधि सम्मिलित उच्च स्तरिय वार्ता कमिटी गठन र मिति तोकिनु हो’ राईले भने-‘बेलायती मन्त्रीसँग गएर हामी वार्ता गर्दैनौ । पहिला बेलायत सरकारले नेपाल सरकारको पत्रको जवाफ लेखोस् ।’

त्रिपक्षीय प्राविधिक सन्यंत्रको सिफारिसलाई टेकेर नै समस्याको हल खोज्नुपर्ने सत्याग्रहको आफ्नो अडान राईले दोहोर्‍याए । 

गोर्खा समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकार बीच वार्ताको लिखित ग्यारेन्टी गर्नुपर्ने सत्याग्रहको माग छ । 

सत्याग्रहले दुई देशीय वार्ताको मिति तोक्न र वार्तामा सहभागी हुने नेपाली टोलीमा गोर्खाका प्रतिनिधि पनि सामेल गराउन पनि माग गरेको छ ।  

भूपू गोर्खाहरुको समस्याप्रति बेलायत सरकार उदासीन बनेको आरोप लगाउँदै सत्याग्रह समितिका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्प घले बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर बिगत १० दिनदेखि आमरण अनसनमा छन् ।

मन्त्रीको इमेल प्राप्त भएपछि प्रतिक्रिया दिंदै समितिका अभियन्ता ज्ञानराज राईले भनेका छन्  ‘बेलायत सरकार नेपाल सरकारसंग वार्ता गर्न डराएर भाग्ने प्रयास गर्दै हामी गोर्खासंग सिधै वार्ता गर्न चाहिरहेको बुझिन्छ । जबसम्म बेलायतले नेपाल सरकारले झै उच्च (क्याविनेट) स्तरिय वार्ता समितिको टुंगो लगाइ वार्ता गर्छु भनेर लिखित पत्र नेपाल सरकारलाई दिदैन, तब सम्म आमरण अन्नसन छाड्दैनौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू