आइतबार, जेठ ६, २०८१
07:48 | १२:३३

एनआरएनए यूके नयाँ कार्यसमितिको पहिलो बैठक सोमबार, यस्ता छन् एजेन्डा

नेपाली लिङ्क अगस्ट १३, २०२१

एनआरएनए यूकेमा नवनिर्वाचित दशौं कार्यसमितिका पदाधिकारीले गत आइतबार शपथग्रहण गरेका थिए ।

लन्डन । एनआरएनए यूकेमा प्रेम गाहामगर नेतृत्वमा नवनिर्वाचित दशौं कार्यसमितिको पहिलो बैठक आगामी साता बस्ने भएको छ ।  सोमबार अगस्ट १६ को मध्यान्ह अल्डरसटको प्यालेस हलमा बैठक बस्नेछ । 

बैठकले ‘सर्ट ट’र्म  र ‘लंग टर्म’ रुपमा कार्यन्वयनमा लैजाने गरी संस्थाका योजना र कार्यक्रमहरु तय गर्ने बताइएको छ । पहिलो एक सय दिन, एक वर्ष र दुई वर्ष गरी तीन फरक-फरक समयभित्र पूरा गर्ने गरी योजनाहरु बनाइनेछ ।

अध्यक्ष प्रेम गाहामगरका अनुसार पहिलो बैठकको प्रमुख एजेन्डा गोर्खाहरुको अधिकार प्राप्तिको आन्दोलन नै रहनेछ । ‘भूतपूर्व गोर्खाहरुको यो आन्दोलनका पक्षमा हामीले सक्दो कोशिशहरु शुरु गरिसकेका छौं । बेलायत तथा नेपाल दुवै देशका सरकारहरुसँग लबिङ गर्ने कार्य आगाडि  बढाइसकेका छौं’ अध्यक्ष गाहामगरले भने,’ उहाँहरुको आन्दोलन सफल पार्नको लागि एनआरएनए यूकेले कसरी प्रभावकारी कदम अघि बढाउने भन्ने विषयमा हामी गहन छलफल गरी रणनीति तयार गर्दैछौं ।’ 

त्यस्तै, बैठकमा नेपाली स्वास्थ्यकर्मीहरुले आगामी सेप्टेम्बर १७ देखि १९ सम्म लन्डनमा आयोजना गर्ने ‘ग्लोबल हेल्थ कन्फरेन्स’ पनि अर्को एजेन्डा रहनेछ । कन्फरेन्सको लागि व्यवस्थापकीय सहयोग गर्न लागेको एनआरएनए यूकेका अध्यक्षको अध्यक्षतामा बेलायतस्थित अन्य संघसंस्था र समुदायका प्रतिनिधि राखेर एक आयोजक समिति गठन गर्ने तयारी छ ।  

हरेक साता बैठक   

अध्यक्ष गाहामगरका अनुसार एनआरएनए यूकेले अबदेखि हरेक साता कार्यसमितिको बैठक गर्नेछ । ती हरेक बैठक एउटा प्रमुख एजेन्डामा केन्द्रित रहनेछन् ।  

नियमित रुपमा जुममार्फत् भर्चुअल बैठक गर्ने र महत्वपूर्ण विषयहरुमा निर्णय लिंदा प्रत्यक्ष ’फेस टु फेस’ बैठक गरिने अध्यक्ष गाहामगर बताउंछन् । उनका अनुसार पहिलो बैठक गोर्खाको एजेन्डामा केन्द्रित रहनेछ भने त्यसपछिका बैठकमा  क्रमश: अनलाइन सदस्यता व्यवस्थापन, खेलकुद, नेपाल सरकारसँग लबिङ गर्ने विषय र कार्यक्रम, नेपाल हाउस, को-अप सदस्य तथा सल्लाहकार मनोनयनका एजेन्डामा छलफल गरिनेछ ।  

को-अप, प्रवक्ता र सल्लाहकार मनोनयन कहिले ? 

सोमबार बस्ने पहिलो बैठकले को-अप सदस्य, प्रवक्ता र सल्लाहकार लगायतको मनोनयनबारे अन्तिम टुंगो नलगाउने भएको छ ।  

‘यी विषयमा हाम्रो छलफल हुन्छ, तर फाइनल हुन थप समय लाग्न सक्छ’, अध्यक्ष गाहामगरले भने । 

को-अप सदस्यहरु मनोनित गर्दा क्षेत्रीय र जातीय सन्तुलनका साथै महिला र युवालाई समेटिने उनले बताए । त्यस्तै, बेलायतका चारै राज्य, प्रमुख संघसंस्था, बुद्धिजिवी, युवा र महिलालाई समावेश गरी सल्लाहकार मनोनित गरिने अध्यक्ष गाहामगरको  भनाइ छ ।  

एनआरएनए यूकेको कार्यसमितिले ४ को-अप सदस्य र एक प्रवक्ता मनोनित गर्न सक्नेछ । प्रवक्ताका लागि भरतमणि चोङवाङको नाम फाइनल भइसकेको बुझिएको छ । गत निर्वाचनमा कोषाध्यक्ष आकांक्षीका रुपमा देखिएका चोङवाङ  टीम निर्माणका क्रममा पछि हटेका थिए ।  

स्रोतका अनुसार ४ को-अप सदस्य र सल्लाहकारको लागि पनि थुप्रै नामहरु प्रस्तावमा आइसकेका छन् । सल्लाहकारहरुको संख्या सकेसम्म ३३ सदस्यीय कार्यसमितिभन्दा सानो राख्ने र त्यो सम्भव नभएपनि धेरै ठूलो नबनाउने पक्षमा अध्यक्ष गाहामगर छन् ।  

विभाग र जिम्मेवारी बाँडफाँड 

एनआरएनए यूकेअन्तर्गत विभिन्न विषयगत विभागहरुको गठन पनि क्रमिक रुपमा गरिने भएको छ । 

आवश्यकता र सान्दर्भिकता हेरेर विभागहरु गठन गर्दै जाने योजना रहेको महासचिव खुशी लिम्बूले जानकारी दिए ।  

गोर्खा, च्यरिटी, संघसंस्था, महिला, युवा, बिजनेस, लगायतका विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिनेछ ।  त्यस्तै, मिडिया, खेलकुद, कलालाई पनि छुट्टै विभाग बनाइ संयोजकहरु तोकेर जिम्मेवारी दिइनेछ ।  

त्यसबाहेक अध्यक्ष गाहामगरकै नेतृत्वमा नेपाल हाउस प्रोजेक्टसम्बन्धि छुट्टै टीम पनि बनाउने तयारी छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू