शुक्रबार, चैत १६, २०८०
09:53 | १५:३८

नेपाली मेलाको तयारीबारे दूतावास र तमुधिं यूकेबीच छलफल

दूतावासको सहयोगमा कमी हुन नदिने राजदूतको वचन

नेपाली लिङ्क अगस्ट ११, २०२१


लन्डन । यही अगस्ट २९ आइतबार आयोजना हुने १२ औं नेपाली मेलाका लागि यतिबेला तीव्र तयारी भइरहेको छ    

यसै क्रममा आयोजक तमुधिं यूकेले बुधबार मेलाको तयारीबारे लन्डनस्थित नेपाली दूतावाससँग छलफल गरेको छ ।

अध्यक्ष हित काजी गुरुङको नेतृत्वमा दूतावास पुगेको तमुधिं यूकेको टोलीसँग राजदूत लोकदर्शन रेग्मीले दूतावासको पूर्ण सहयोग रहने प्रतिवद्धता गरे । दूतावासका तर्फबाट विगतदेखि हुँदै आएको सहयोगमा कुनै कमी हुन नदिने वचन उनले दिए ।  

राजदूत रेग्मीले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी गराउन सुझाव पनि दिए । 

दूतावास समेतको सहकार्य र समन्वयमा वर्षेनी आयोजना हुँदै आएको नेपाली मेलामा उत्कृष्ट प्रस्तुतिका लागि प्रदान गरिने २५ सय पाउन्ड नगदसहितको ‘एम्बासडर कप’ दूतावासले प्रायोजन गर्दै आएको छ ।

मेलाका लागि बेलायतस्थित दक्षिण एशियाली मुलुकका राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुलाई दूतावासले निमन्त्रणा पठाउने भएको छ । त्यस्तै, बेलायतका सम्पूर्ण नेपाली संघसंस्थालाई पनि मेलामा सहभागिताका लागि दूतावासले आव्हान गर्ने भएको छ ।  

छलफलका क्रममा तमु धिं यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला आयोजनामा लन्डन दूतावासले खेल्दै आएको सहयोगी भूमिकाका लागि धन्यवाद प्रकट गरे । दूतावास र राजदूत रेग्मीबाट प्राप्त सुझावहरुलाई मनन गर्दै कार्यक्रमको तयारी अघि बढाइने उनले बताए ।

नेपाली मेला तमुधिं यूकेको मात्र नभइ बेलायतका सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम हो भन्दै अध्यक्ष गुरुङले सोहीअनुसारको सन्देश कार्यक्रमले दिने विश्वास दिलाए ।  

त्यस अवसरमा १२ औं नेपाली मेलाका संयोजक एवम् उपाध्यक्ष हरि गुरुङले नेपाली मेलासम्बन्धि एक पावर पोइन्ट प्रिजेन्टेसन दिए । राजदूतसहित दूतावासका सबै कूटनीतिक कर्मचारी बेलायतमा नयाँ भएका कारण उनीहरुलाई कार्यक्रमबारे सक्दो बढी जानकारी गराउने उद्धेश्यले उक्त प्रस्तुति गरिएको थियो ।  

दूतावाससंगको छलफलमा तमुधिं यूकेको तर्फबाट अध्यक्ष गुरुङसंगै कार्यक्रम संयोजक एवम् उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्षहरु जुमकाजी गुरुङ र तुलाराम गुरुङ, कोषाध्यक्ष कमल कोने गुरुङ, पूर्व उपाध्यक्ष मेजर बुद्धि गुरुङ लगायतका पदाधिकारी सहभागी थिए ।  

गत वर्ष महामारीका कारण रोकिएको मेलालाई यसपटक पनि विगतमा जस्तै व्यापक र भव्य बनाउने तयारीमा तमु धिं यूके जुटिरहेको छ ।  

लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका मौलिक एवम्  सांस्कृतिक झांकीहरुको प्रस्तुति गरिनेछ । मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू