आइतबार, जेठ ६, २०८१
04:44 | ०९:२९

लन्डनमा गोर्खाको आमरण अनसनस्थलमा बेलायती प्रहरीको हस्तक्षेप (भिडियो)

नेपाली लिङ्क अगस्ट १०, २०२१

लन्डन । लन्डनमा भूतपूर्व गोर्खाहरुले आमरण अनसन बसेको स्थलमा बेलायती प्रहरीले हस्तक्षेप गरेको छ ।  

१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर आमरण अनसनमा बसेका गोर्खाहरुको त्रिपाल प्रहरीले हटाएको छ ।  

मंगलबार बिहान अनसनस्थल पुगेको प्रहरीले बेलायती कानूनअनुसार उक्त स्थानमा त्रिपाल लगाउन नपाइने भएकाले हटाइएको बताएको छ ।  

शुरुमा प्रहरीले त्रिपाल हटाउन खोज्दा गोर्खाहरुले रोक्न खोजेपनि प्रहरी पछि हटेन । आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले त्रिपाल हटाउंदै गरेका प्रहरी अधिकृतहरुलाई ‘हामीले २ सय ७ वर्षदेखि तिमीहरुको देशका लागि लड्दै आएको बदलामा यही पुरस्कार दिएको हो ?’ भनी प्रश्न गरेका थिए ।

त्यसक्रममा प्रहरीले गोर्खाहरुको अनसन वा विरोध कार्यक्रममाथि हस्तक्षेप गर्ने कुनै मनसाय नरहेको बताएका थिए ।

गोर्खाहरुले भने कानूनको वहाना बनाएर त्रिपाल हटाइनुलाई आफूहरुको अनसन बिथोल्ने षड्यन्त्रका रुपमा बुझेका छन् ।  

गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले अब बेलायत सरकारले विभिन्न वहानामा क्रमिक रुपमा अनसन बिथोल्न कोशिश् गर्न सक्ने बताए ।  

समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्प घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा बसेका छन् ।

हेरौं भिडियो: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू